नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Monday, December 10, 2012

न्हूदँ र म्ह पूजा : नेपाल सम्बतको ज्योतीषशास्त्रीय व्यवहारिक पक्ष


न्हूदँ र म्ह पूजा : नेपाल सम्बतको ज्योतीषशास्त्रीय व्यवहारिक पक्ष

लबलाल प्रधान
Source : Kirtipur Sandesh Weekly

औंसीको भोलिपल्ट सूर्योदय भएको समयमा प्रतिपदा हुँदा सूर्य तुला राशीमा छ भने नेपाल सम्बतको नयाँ बर्ष न्हू दँ मनाईन्छ भने त्यही राती म्हः पूजा गरिन्छ । ज्योतिषशास्त्र अनुसार सूर्योदयको समयदेखि बिहान, दिउँसो, बेलुका, राती गरी, भोलिपल्टको सूर्योदय नभएसम्म एक दिन मानिन्छ । यही सूर्योदयको समयदेखि ज्योतिषशास्त्रअनुसार बार, गते महिना र बर्ष फेरिन्छ र ज्योतिषशास्त्रको घडी शुरु हुन्छ । ज्योतिषशास्त्रअनुसार ६० घडीको एक दिन हून्छ । 

तर आजकल बैज्ञानिकहरूकाअनुसार रातीको १२ बजे (Anti-meridian)  मा पृथ्वीको कुनै ठाउँ आईपुग्दा सो ठाउँको दिन र बार फेरिन्छ । त्यसैले अहिले चलिराखेको रातीको १२ बजे दिनको शुरुवात र ज्योतिषशास्त्रको दिनको शुरुवात सूर्योदयअनुसार हुने समय फरक छ । त्यसैगरी बार पनि फरक छ । अहिले दुबै प्रथा चलिनै राखेको छ । समयको गणना गर्दा ५ घडी बराबर २ घण्टा मानिन्छ । जब सूर्य, चन्द्र, पृथ्वीको गति र तिथीको कुरा आउँछ तब ज्योतिषशास्त्रकै आधारमा मानिन्छ । तिथीको शुरुवात बिहान, दिउँसो, बेलुका, राती जुनसुकै बेलाबाट पनि हुन सक्ने भएकाले तिथीको दिन कसलाई मान्ने भन्ने विवाद छ । यदि रातीबाट तिथी शुरु भयो भने त्यहि दिनको सूर्योदयबाट लिने हो कि भोलिपल्टको सूर्योदयबाट लिने हो भन्ने विवाद कायमै छ ।  यस्तो शुरुवात ठोस बिन्दुबाट मान्न नसक्ने हुँदा खबचष्बदभि लाई कसरी दिन तोक्ने ? 

ज्योतिषशास्त्रले सूर्योदयको समयलाई धेरै महत्व दिएको हुन्छ । नेपालमा हरेक चाड, जन्मदिन, श्राद्ध सबै तिथीबाट नै तोकिने गर्दछन् । यी सबै पर्वहरू हामी पुरा दिन नै मनाउँछौं । यी पर्वहरू मनाउनका लागि पुरा दिनको आवश्यकता हुन आउँछ । तर दिन नै नभएको तिथीलाई कुन तिथीको परिभाषाबाट लिने भन्ने समस्या छ । त्यसैले ज्योतिषशास्त्रको व्यवहारीक पक्षलाई ध्यान दिँदा वा व्यवहारमा कसरी ल्याउने भन्दा, सूर्योदयको समयमा भएको तिथीलाई नै दिनभरिको तिथी मानी सोही तिथीअनुसार चाड, जन्मदिन, श्राद्ध आदि पनि तोकिने चलन छ । यो चलन चल्दै आएको हजारौं बर्ष भइसक्यो, तर अहिले यसलाई बदल्न कोशिस गरिदैं छ । अहिले विहान काम गर्ने भए विहानको तिथी, दिउँसो पूजा गर्ने भए दिउँसोको तिथी, राती पूजा गर्ने भए रातीको तिथी तोकिन थालिएको छ । यसरी तिथीको दिनको परिभाषा ज्योतिषशास्त्रको व्यवहारिकताको बिरुद्ध जान लागेको छ । 

नेपाल सम्बतको नयाँ बर्ष न्हू दँ ११३३ बर्ष अगाडि म्हः पूजाको दिन शुरु गरेको पुरानो पचांङ्ग कार्यकर्ता भन्दछ । त्यसबेला सूर्योदयबेलाको तिथीलाई नै दिनभरिको तिथीको रुप लिइन्थ्यो । यो नेपाल सम्वत्को शुरुको अवस्थालाई हामीले बिर्सनु हुँदैन । उही कार्यकर्ताअनुसार त्यसबेलादेखि कयौ बर्षसम्म न्हूदँ र म्हःपूजा एकै दिनमा गर्दै आएको भनिन्छ । तर बीचमा एकदुईपटक अगाडिको दिन परेको पनि भनिन्छ । त्यो बेला नेपाल सम्बत् कार्यालयहरूमा प्रचलन भएकाले ज्योतिषशास्त्रको व्यवहारिकता ध्यानमा राखेर फेरी एकैदिन पारीआएको थियो । 

अब नेपाल सम्बत्को प्रचलनमा नभएको पारेर, त्यस्तै २० बर्ष जति अगाडिदेखि लक्ष्मीपूजा सूर्योदयको समयको आधारमा नभै रातीमात्र औंसी भएको बेला मनाउन थालियो । न्हूदँ र म्ह पूजा कान्तिपुर, ललितपुर र भक्तपुरमा कतै बिहानको तिथीमा मान्ने, कतै रातिको तिथीमा मान्न थालियो । विगत ५÷६ बर्ष अगाडिदेखि विहानकालागि विहानको तिथी, दिउँसो पूजा गर्ने भए दिउँसोको तिथी, राती मनाउने भए रातीको तिथी राख्ने र राती पूजा गर्ने सबै एकदिन अगाडि मनाउन थालियो । यो नेपाल सम्बतको आधार विपरित कार्यको थालनी गरेर नेपाल सम्वत् प्रयोगमा नआवस् भन्ने चाहने यो रिति बिशेष गरेर पचागं कार्यकर्ताबाट अपनाउन थालियो । यसरी तिथीमा मात्र जोड दिने नभई, तिथीको मतलब के हो र यसको ज्योतिषशास्त्रीय व्यवहारिकताको ख्यालै नगरी प्रथानै बदल्न खोजियो । यो नेपाल सम्बतलाई आघात पु¥याउन गरिएको कार्य थियो । 

ज्योतिषशास्त्रीय व्यवहारिकतामा अडिएर सूर्योदयको समयको तिथीलाई नै चाडबाडको दिन तोक्ने तिथीको रुपमा अपनाउन जरुरी देखिन्छ । महाभारत र रामायणकालमा गतेको प्रयोग कहिल्यै भएको थिएन, एक दिनको दुई तिथी गरिएको वा भएको कहिल्यै सुनिएन वा देखिएन पनि । त्यसकालमा दिनको रुप नै तिथी हुन्थ्यो ।

हरेक सम्वत्को आधार हुन्छ, त्यो सम्बत्को दिन, महिना र बर्षको परिभाषा । यसअनुसार नेपाल सम्बत्को आधारलाई यसरी ब्याख्या गर्न सकिन्छ । नेपाल सम्बत्को दिनको परिभाषा भनेको सूर्योदयको समयबाट शुरु हुन्छ र सो दिनलाई सूर्योदय समयको तिथीबाट नै नामाकरण गर्ने अथवा तोकिने चलन छ । जस्तैः पञ्चमीको दिन, पूर्णिमाको दिन, दशमीको दिन आदि भन्ने चलन छ । 

त्यस्तै कृष्णाष्टमी भन्दा त्यस बेलाको प्रथाअनुसार सूर्योदयको बेलामा अष्टमी भएको दिन राती १२ बजे कृष्ण जन्मेको सबैलाई थाहा छ । अहिलेको नियमअनुसार गर्ने हो भने नवमी लागिसकेको पनि हुनसक्छ । तर अहिले सप्तमीको राती नै मनाइन थालिएको छ । यसलाई ज्योतिषशास्त्रीय आधारमा भएको मानिदैन । ध्यान दिनु पर्ने कुरा त जहिले पनि कसरी दिनको शुरु भएको हो भन्ने हो । त्यसरी नै एकै दिनमा चैतदशै र रामनवमी पार्नु कहाँ सम्मको नियम सगंत हो कुरा हो ? के राती अष्टमी भएको दिन जन्मेकोले राती अष्टमी भएको बेला राती मात्र जन्मदिन मनाउने ? त्यस्तै विहानको बिहान मात्रै, दिउँसोको दिउँसो मात्रै जन्म दिन मनाउने ? यो कति सम्म व्यावहारिक हुन्छ ? 

यसरी यस्ता अव्यावहारिक पक्षलाई नेपाली समाजमा भित्र्याउनु भनेको नेपाल सम्बत्को ज्योतिषीय आधार भन्दा बाहिर जानु हो त्यसैले यसतर्फ नलागी दिनको शुरुवातमा जुन तिथी हुन्छ त्यसलाई नै दिनभरिको तिथी कायम गर्नु नै सकल नेपालीहरूको हितमा हुनेछ भन्ने यो पक्तिकारको अटल विश्वास छ । परापूर्वकालदेखि चल्दै आएको सकल नेपालीहरूको सास्कृतिक मान्यता कस्तो थियो र कस्तो हुनु पर्दछ भन्ने मनमा राखी अहिलेको अव्यवहारिक पक्षलाई सच्याउन वाध्य पारौं । 

नेपाल सम्बत्मा महिनाको परिभाषा गर्दा औंसी भोलिपल्ट प्रतिपदा सूर्योदयबेला परेको दिनलाई महिनाको शुरुवात मानिन्छ । अर्को औंसीमा त्यो महिना टुगिंएको मानिन्छ । त्यस्तै नेपाल सम्बतमा बर्षको परिभाषा गर्दा १२ औंसी पुरा हुनु पर्दछ । यो ३५४ दिन को हुन्छ । तर सूर्यले पृथ्वीलाई परिक्रमा गर्दा ३६५ दिन हुन्छ भन्ने प्रमाणित भएपछि नेपाल सम्बत्लाई सोलार क्यालेन्डरसँग मिलाउन हरेक तीनबर्षमा एक महिना थप हुन्छ, यो महिनालाई अनला महिना अथवा पुरुषोतम महिना भनिन्छ । 

नेपाल सम्बत् राष्ट्रिय सम्बत् घोषणा भइसकेको परिप्रेक्षमा नेपालसम्बत्को आधारमा सूर्योदय समयको तिथीलाई आधारमानी हरेक चाडपर्व तोक्ने गर्नुपर्दछ । यसो गर्दा हालको समस्याबाट मुक्ति मिल्दछ र अहिले चलिरहेको अव्यवहारिक एक दिन दुई तिथीको नीति नअपनाउँ भन्ने धारणा अघि सार्न चाहन्छु ।

1 comment: