नेवा: स इन्टरनेट रेडियो

Wednesday, October 31, 2012

नोबेलको भूमरी


अभय श्रेष्ठ
यस वर्षको नोबेल साहित्य पुरस्कार घोषणाको एक दिनअघि संसारकै नेपालीभाषीबीच गुलाबी उत्साहको एउटा लहर फैलियो। दार्जिलिङका नेपालीभाषी कवि राजेन्द्र भण्डारी उत्कृष्ट दसको छोटो सूचीमा परे भनेर। भारतका केही सञ्चारमाध्यमले चुहाएको यस खबरको आधिकारिकता कति थियो भन्न सकिन्न। किनभने नोबेल समितिको विधानमा मनोनीत व्यक्तिको नाम ५० वर्षसम्म सार्वजनिक नगर्ने प्रावधान छ। तैपनि, सामान्यतया मनोनीतका रूपमा प्रचारित व्यक्तिमध्ये नै कसैले पुरस्कार पाउने गरेका छन्। यसले चुहिएको खबरमा सत्यांश भएको अनुमान भने गर्न सकिन्छ। प्रस्ट छ, जापानी आख्यानकार हारुकी मुराकामीलगायत विभिन्न लेखकसँगै यस वर्षका विजेता मो यान पनि मनोनीत भएको खबर सञ्चारमाध्यमहरूले चुहाएका थिए।
नोबेल समितिले 'लोककथा, इतिहास र समसामयिक चिनियाँ जीवनको अनुकाल्पनिक यथार्थवाद झल्काउने कृतिका लागि' यानलाई पुरस्कार दिने निर्णय गरेको हो। चिनियाँ कम्युनिस्ट पार्टीले घोषणाको स्वागत गर्दै यानलाई बधाई दिएको छ। कम्युनिस्ट पार्टीको मुखपत्र 'पिपल्स डेली' ले लेखेको छ, 'पहिलोपल्ट चिनियाँ लेखकले यो पुरस्कार पाएका छन्। यसका लागि चीनले चिर प्रतीक्षा गरेको थियो।' यसअघि चीनको संस्थापनलाई चुनौती दिने तीन चिनियाँ पुरस्कृत थिए। यानलाई पुरस्कृत गरेर नोबेल पुरस्कार कम्युनिस्ट व्यवस्थाको विरोधी होइन भन्ने प्रमाणित गर्न खोजिएको छ। तैपनि, चिनियाँ लेखक तथा बौद्धिकबीच भने यसले चिसो तरंग फैलाएको छ। हुन पनि संसारभर लोकप्रिय चिनियाँ लेखक लु सुन, आई छिङ, बा जेनले नपाएको पुरस्कार चीनमै उति ख्याति नकमाएका लेखकले पाउनु धेरैलाई आश्चर्यजनक थियो। चिनियाँ निबन्धकार तथा समालोचक यु सिकुनले त मुखै फोरेछन्, 'यानले ल्याटिन अमेरिकी साहित्यको प्रतिलिपि उतार्नेभन्दा बढी केही गरेका छैनन्। चिनियाँ साहित्यमा उनको भूमिका उल्लेख्य छैन।'

हुन पनि लु सुन, बा जेन, वाङ मेङ, सुन ली, याङ मो जस्ता चिनियाँ लेखकलाई संसारभरका पाठकले स्वादले पढेका छन्। मो यान धेरै पाठकका लागि नौलो नाम हो। संयोगवश, मैले हेरेको झाङ यिमुको चलचित्र 'रेड शोरघम' यानकै उपन्यासको दृश्यांकन रहेछ जसमा चिनियाँ क्रान्तिलगत्तै किसानले भोग्नुपरेको कठिनाइको कथा छ। यिमु मन्द तरिकाले माओकालीन चीनलाई ध्वस्त पार्ने गरी उडाउन माहिर छन्। उनका माओकालीन पात्रहरू सोझा, इमानदार तर अत्यन्त मूर्ख र जड हुन्छन्। यान चिनियाँ सरकार समर्थित चिनियाँ लेखक संघका उपाध्यक्ष हुन्। परन्तु उनका केही कृति 'अश्लील र उत्तेजक' भनी प्रतिबन्धित छन्। उनका किताबका शीर्षक यस्ता पनि छन्, 'बिग ब्रेस्ट्स एन्ड वाइड हिप्स', 'द रिपब्लिक अफ वाइन'।

विवादको भूमरी
नोबेल विजेताको सूची हेर्ने हो भने यस पुरस्कारलाई विवादको भूमरी नै भने हुन्छ। सन् २०१० को नोबेल शान्ति पुरस्कारकै प्रसंग कोट्याऊँ। राज्यद्रोहको अभियोगमा सांघाई जेलमा रहेका ल्यु जियाओबोलाई शान्ति पुरस्कार दिने घोषणालाई चीनले आन्तरिक राजनीतिमा हस्तक्षेप ठान्यो। 'नोबेल कमिटीलाई चिनियाँ नीतिविरोधी नाटक मञ्चनको चटारो छ,' चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता जियाङ युले भनेकी थिइन्, 'केही विदूषकको हस्तक्षेपले चीनमा केही हुनेवाला छैन।'
नोबेल पुरस्कार कम्युनिस्टविरोधी विचारप्रति उदार छ भन्ने सदाबहार आरोप हो। जियाओबोलाई पुरस्कार दिने घोषणापछि यो अमेरिका र पश्चिमा राष्ट्रको स्वार्थले प्रेरित छ भन्नेको तर्कलाई बल मिल्यो। एसिया, अफ्रिका, ल्याटिन अमेरिका, इस्लाम धर्म, काला जाति, साम्राज्यवादीविरोधी राजनीतिलाई यसले आँखा तर्छ भन्ने आरोप पनि पुरस्कृत पात्रको सूचीले धेरै हदसम्म पुष्टि हुन्छ।
यानसहित अहिलेसम्म चार चिनियाँ पुरस्कृत छन्। भारत निर्वासित दलाई लामा सन् १९८९ मा र जियाओबोले सन् २०१० मा शान्ति पुरस्कार पाए। उता 'वन म्यान्स बाइबल' उपन्यासका लागि चर्चित गाओ सिंग्जियनलाई सन् २००० साहित्य पुरस्कार दिइयो। उनी फ्रान्समा निर्वासित छन्। यानबाहेक बाँकी तीन जना चिनियाँ नीतिका कट्टर विरोधी हुन्। चीन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा अमेरिका र चीनमा अध्ययन गरेका त्रैलोक्यराज अर्यालले यस सम्बन्धमा अंग्रेजी दैनिक 'द रिपब्लिका' मा दुई वर्षअघि लेखेका थिए, 'सन् १९८९ मा तियानमेन स्क्वायर घटनामा चीनको आलोचना भइरहँदा सन् १९९० को शान्ति पुरस्कार भारत निर्वासित धार्मिक नेता दलाई लामालाई दिइयो। सन् १९९९ मा बेलग्रेडस्थित चिनियाँ दूतावासमा अमेरिकी नेतृत्वको फौजले गरेको बम आक्रमणविरुद्ध चीनमा निकै विरोध भइरहेका बेला सन् २००० को नोबेल साहित्य पुरस्कार फ्रान्स निर्वासित चिनियाँ साहित्यकार गाओ सिंग्जियनलाई दिइयो। उत्तर कोरिया र इरानबारे अमेरिकी नीति पछ्याउन चीनले अस्विकारिरहेको र ऊ जापानसँग 'फिसिङ बोट रो' मा कडाइसाथ प्रस्तुत भइरहेका बेला चिनियाँ नीतिविरोधी जियाओबोलाई पुरस्कार दिइयो। यी प्रसंग संयोगमात्र हुनै सक्दैनन्।'

पुरस्कारकै दुर्भाग्य
पुरस्कार नपाउने जति सबै अयोग्य हुँदैनन्। योगदान, सिर्जना र लोकप्रियता नै तिनको अक्षय पुँजी हो। नोबेलको मान्यताअनुसार त भारतका महात्मा गान्धी शान्ति पुरस्कारका लागि अहिलेसम्मकै सबैभन्दा योग्य व्यक्ति थिए। शान्ति र अहिंसाका अनुपम प्रतीक गान्धीको जन्मदिवस अक्टोबर २ मा संयुक्त राष्ट्रसंघले विश्वव्यापीरूपमा अहिंसा दिवस मनाउन थालेको छ। अहिंसात्मक आन्दोलनमार्फत बेलायती साम्राज्यबाट भारतलाई मुक्त गरेर उनले संसारमै अनुपम उदाहरण पेस गरेका थिए। शान्ति स्थापनामा उल्लेख्य कुनै काम नगर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २००९ मा यो पुरस्कार पाए। कहाँसम्म भने जर्मनीका महानरसंहारकर्ता हिटलरसमेत कुनै समय यस पुरस्कारका लागि गान्धीसँगै मनोनीत थिए। गान्धी सन् १९३७, १९३८, १९३९, १९४७ मा शान्ति पुरस्कारका लागि मनोनित थिए। तर, चारैपल्ट उनलाई पाखा लगाइयो। उनी पुरस्कृत नहुनुलाई धेरैपछि नोबेल समितिले नै आफ्नो दुर्भाग्य भएको स्विकार्नुपर्‍यो। सन् १९३९ मा शान्ति पुरस्कार वितरण भएन। सन् ३७, ३८ मा पुरस्कृत क्रमशः बेलायतका भिस्कोन्ट सेसिल तथा नान्सेन इन्टरनेसनल अफिस फर रिफ्युजिज र सन् ४७ मा शान्ति पुरस्कार पाउने साथी सेवा परिषद् तथा अमेरिकी मित्र सेवा समिति योगदानका हिसाबले गान्धीको गोलीगाँठासम्मै पुग्दैनथे।
पञ्चशील सिद्धान्त, कोरिया र स्वेज विवाद समाधानमा गान्धीकै अनुयायी जवाहरलाल नेहरुको भूमिका तथा असंलग्न आन्दोलनका लागि उनको प्रयत्न हरेक अर्थमा महत्वपूर्ण थियो। नेहरु पनि यस पुरस्कारका लागि योग्य मानिएनन्। सबैजसो सत्ताद्वारा नजरबन्द, पाकिस्तानको लोकतान्त्रिक आन्दोलनका प्रतीक, सीमान्त गान्धी भनेर चिनिने खान अब्दुल गफ्फार खाँको नाम पनि नोबेल समितिसम्म कहिल्यै पुगेन।
अमेरिकी प्रभाव सफलतापूर्वक रोक्ने क्युवाका कुनै नेताको नामै लिनु नोबेल पुरस्कारका लागि सायद अपराध मानिन्छ। अमेरिका र पश्चिम युरोपको युद्धउन्माद र षड्यन्त्रको भण्डाफोर गरी शान्ति स्थापनाका लागि स्वतन्त्र विश्वजनमत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अमेरिकी विद्वान् नोम चोम्स्कीको नाम पनि नाबेल समितिसम्म कहिल्यै पुगेन।
रुसका लियो टाल्सटाय संसारकै महान् साहित्यकार हुन्। वार एन्ड पीस, अन्ना कारेनिना, रिसरेक्सनजस्ता उपन्यास र सयौँ महान् कथाका स्रष्टा हुन् उनी। रुसकै आन्तोन चेखब संसारकै श्रेष्ठ कथाकार तथा नाटककार मानिन्छन्। संसारकै कथा साहित्य आज पनि उनैले खनेको बाटो हिँडिरहेको छ। अंकल भान्या, थ्री सिस्टर्स, चेरिज अर्किड, सीगुलजस्ता उनका नाटक लोकप्रिय छन्। यीलगायत महान् उपन्यास 'आमा' का स्रष्टा म्याक्सिम गोर्की, नर्वेका महान् नाटकार हेनरिक इब्सेन, चीनका लुसुनजस्ता विश्वकै महान् र अत्यन्तै रुचिसाथ पढिएका लेखक नोबेल पुरस्कारका लागि योग्य ठहरिएनन्। पुरस्कार पाएका कुनै पनि लेखकका भन्दा सिर्जना र लोकप्रियता दुवैका हिसाबले यिनीहरूको उचाइ कैयन् गुणा बढी छ। थुप्रैपल्ट मनोनयनमा परे पनि कम्युनिस्ट विचारधाराप्रति प्रतिबद्धताकै कारण गोर्कीलाई पन्छाइएको थियो।
थोरै उमेर बाँचे पनि विश्वव्यापी प्रभाव जमाउने अस्तित्ववादी गद्यकार फ्रान्ज काफ्का, फार फ्रम म्याडिङ क्राउड, मेयर अफ क्यास्टब्रिज, द रिटर्न अफ द नेटिभ, क्राउड, टेसजस्ता आञ्चलिक र प्रकृतवादी उपन्यासका स्रष्टा थोमस हार्डी, प्रेम र यौनको अनौठो दार्शनिकता झल्काउने उपन्यासकार डिएच लरेन्स पनि यस पुरस्कारका लागि योग्य ठहरिएनन्। फ्रेडेरिको गार्सिया लोर्का, बर्तोल्त ब्रेख्त, एलेन गिन्सबर्ग, ल्यांग्स्टन ह्युजजस्ता विश्वकै महान् कविहरूले पनि यो पुरस्कार पाएनन्। जेम्स ज्वायस, समरसेट मम, एचजी वेल्स, एचई बेट्सजस्ता समकालीन विश्व गद्यसाहित्यका महारथिहरू पनि पुरस्कारबाट वञ्चित रहे।
सन् १९४७ मा फान्सका आन्द्रे जिदलाई साहित्य पुरस्कार दिइयो। तर, समलिंगी भएको आरोपकै कारण त्यसअघि धेरैपल्ट उनलाई पाखा लगाइएको थियो। थुप्रै मानवहितकारी आविष्कार गर्ने थोमस एल्बा एडिसन, मनोविज्ञानका पिता सिग्मन्ड फ्रायड, विमान उडाउने राइट दाजुभाइ, अन्तरिक्ष विज्ञानमा महत्वपूर्ण योगदान गर्ने जर्ज हेली पनि नोबेलबाट वञ्चित रहे। जर्मन भौतिकशास्त्री आर्नोल्ड समरफिल्डको नाम पाँच दशकमा ८१ पटक मनोनित भयो तर उनले पुरस्कार पाएनन्। सापेक्षतावाद सिद्धान्तका प्रतिपादक महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई पनि राजनीतिकै कारण धेरैपल्ट लोप्पा खुवाइयो। सन् १९२३ मा उनलाई यो पुरस्कार त दिइयो तर सापेक्षतावादका लागि नभई खासै प्रभाव नभएको फोटो इलेक्ट्रिक प्रभावका लागि। सम्भवतः पुरस्कारको पूर्वाग्रहकै विरोधस्वरूप सन् १९६४ को साहित्य पुरस्कार विजेता फ्रान्सका जँ पाल सार्त्र, सन् १९७३ मा हेनरी किसिंगरसँग साझेदारीमा शान्ति पुरस्कार पाएका भियतनामका ली डक थोले पुरस्कार अस्विकारेका थिए। आइरिस नाटककार जर्ज बर्नाड शले पुरस्कार स्विकारे पनि पुरस्कारको रकम स्विकारेनन्।
नाइजेरियाका जुझारु कवि-उपन्यासकार बेन आकरी, अल्बानियाका इस्मायल कादार, इजरायलका अमोस ओज, नेदरल्यान्डसका सिज नटवूम, ह्यूगो क्लाउस, सोमालियाका नुरुद्दिन फराह पनि साहित्य पुरस्कारबाट बारम्बार पाखा लगाइएका छन्।
बंगालादेशी लेखक तसलिमा नसरिन शान्ति पुरस्कारकी वास्तविक हकदार हुन्। धर्मको नाममा नारी स्वतन्त्रता र समानताको घाँटी निमोठ्ने प्रवृत्तिविरुद्ध ज्यानकै मूल्यमा विगत १६ वर्षदेखि उनी लडिरहेकी छन्। विचार र आदर्शमा सम्झौता गर्न नमानेकै कारण उनलाई देश निकाला गरियो। बाबुआमाको अन्तिम अवस्थामा पनि स्वदेश फर्कन पाइनन्। उनका पाँच किताब प्रतिबन्धित भए। कट्टटरपन्थी मुसलमानको फतवाका कारण अभाव, असुरक्षाबीच थातबास बेठेगान भएर उनी कहिले कुन देश, कहिले कुन देश भौतारिइरहेकी छन्। दुर्भाग्य, उनको नाम नोबेल समितिसम्म पुगेकै छैन।

विवादास्पद विजेता 
अमेरिकी राष्ट्रपति भएको एक वर्षमै बाराक ओबामाले शान्ति पुरस्कार पाए जतिखेर शान्ति स्थापनामा उनले उल्लेख्य एउटै काम गरेका थिएनन्। अहिले त उनको भूमिका शान्तिविरोधी देखिन थालिसकेको छ। पोल्यान्डमा रुसी प्रभाव रोक्न र अमेरिकी प्रभाव भित्र्याउन भूमिका खेल्ने लेक वालेसाले सन् १९८३ मा शान्ति पुरस्कार पाए। पोल्यान्डको स्वतन्त्र मजदुर संगठन 'सोलिडेरिटी'का नेता हुन् वालेसा। उनले आफूलाई पुरस्कार दिइए 'सोलिडेरिटी'लाई मद्दत मिल्ने बताएका थिए। 'सोलिडेरिटी'लाई मद्दत अर्थात् तत्कालीन सोभियत संघ-समर्थित येरूजेल्स्की सरकारको विरोध। त्यसैताक पोप जोन पौल द्वितीयले पोल्यान्ड यात्रा गरेका थिए। अनि त्यही वर्ष वालेसालाई शान्ति पुरस्कार दिइयो। इन्टरनेसनल हेराल्ड टि्रब्युनका अनुसार यी दुई घटना रूसविरूद्ध त्यहाँ सेलाएको आन्दोलनलाई पश्चिमी 'चिकित्सक'द्वारा दिइएका जीवनदायी दुई इन्जेक्सन थिए।
अमेरिकी प्रभाव भित्र्याएर सोभियत संघ विघटनमा भूमिका खेल्ने तत्कालीन रूसी राष्ट्रपति मिखाइल गोर्भाच्योभलाई सन् सन् १९९० मा शान्ति पुरस्कार दिइयो। यासेर अराफातलाई प्यालेस्टेनी जनताको मूल अधिकार तथा आफ्नो जमिन आफ्नै देशमा फर्काउने संघर्षका लागि नभई इजरायलसँग सम्झौताका लागि यित्जाक राविनसँग साझेदारीमा पुरस्कार दिइएको थियो। इब्सेन, टाल्सटाय, चेखब, गोर्की, लुसुनजस्ता संसारका अतिप्रिय साहित्यकारको गोलीगाँठासम्मै नपुग्ने आलेक्सान्द्र सोल्जेनित्सिन रुसी कम्युनिस्ट शासनप्रति अघोर विग्रह र स्टालिनले देश निकाला गरेका कारण संसार हल्लाउने गरी चर्चित भए। सन् १९७० मा उनलाई नोबेल साहित्य पुरस्कार दिइयो जसमा उनको सिर्जनात्मक उचाइले भन्दा कता हो कता बढी यही छविले काम गरेको थियो। रुसकै बोरिस पास्तरनाक, जोसेफ ब्रोड्स्की पनि कम्युनिस्टविरोधी विचारकै कारण पुरस्कृत भए।
केहीयता यो पुरस्कार इस्लामविरोधी राजनीतिप्रति उदार हुँदैछ। खासगरी, युरोप वा अमेरिका बस्ने तेस्रो विश्वका पश्चिमा संस्कृतिप्रेमी लेखकप्रति ऊ कृपालु हुँदैछ। उसको मनोनयनमा पर्ने नामहरूबाट यो प्रस्ट हुन्छ। सन् २००६ मा साहित्य पुरस्कार विजेता टर्कीका ओरहान पामुक ज्वलन्त उदाहरण हुन्। सन् २००४ मा प्रकाशित उपन्यास 'स्नो'ले उनलाई यो पुरस्कार दिलाउन महत्वपूर्ण भूमिका खेलेको थियो जसमा धर्मनिरपेक्षतावादी राज्य र कट्टर इस्लामबीच द्वन्द्वको वर्णन छ।
पेरुका मारियो भर्गास लोसा कुनै समय कम्युनिस्ट थिए। कम्युनिस्ट रहँदै उनको साहित्य सबैभन्दा उर्बर थियो। त्यस विचारबाट विमुख भइसकेपछि बल्ल उनलाई सन् २०१० को साहित्य पुरस्कार दिइयो। जापानका हारुकी मुराकामी र कुनै समयका पक्का कम्युनिस्ट मिलान कुन्देरा नोबेल मापदण्डअनुसार सबैभन्दा सुहाउँदा पात्र हुन्। आउँदा कुनै पनि वर्ष यिनले पुरस्कार पाउन सक्छन्।

केही अपवाद
शीतयुद्धकालमा नोबेल पुरस्कार पाउने कुनै व्यक्ति तत्कालीन रुसविरोधी राजनीतिप्रति असहमत थियो भने त्यो पुरस्कारको निष्पक्षताको साख जोगाउनमात्र थियो। मिखाइल सोलोखोभ (१९६५), जँ पाल सार्त्र (१९६४) , पाब्लो नेरुदा (१९७२) यसका दुर्लभ उदाहरण हुन्। नत्र पुरस्कारको असली मापदण्डमा सोल्जेनित्सिन, पास्तरनाक, हेनरी किसिंगर, मेनाह्याम बेगिनहरू नै पर्थे।
सोभियत संघ विघटनपछि साम्यवादी विचारधाराप्रति नोबेलको अनुदारता बिस्तारै खुकुलिँदैछ। यसबीच डोरियो फो, जोसे सारामागो, गुन्टर ग्रास, एल्पि्र्कड जेलिनेकजस्ता निख्खर कम्युनिस्ट र काला जातिको संघर्षको अनुपम कथा लेख्ने टनी मरिसन, रंगभेदविरोधी जेएम कुट्सीजस्ता लेखकले पनि पुरस्कार पाएका छन्। बेलायती साहित्यकार ह्यारोल्ड पिन्टर नोबेल पुरस्कार पाउने यस्ता साहित्यकार हुन् जसले अमेरिका र बेलायतको प्रजातन्त्रको खिल्ली उडाएका छन्। सन् २००५ का शान्ति पुरस्कार विजेता मोहमद एल बारादी पनि युद्धविरोधीका रूपमा चर्चित छन् जसले इराकसँग आणविक हतियार नभएको दाबी गरेका थिए। काला जातिको अधिकारका लागि लड्ने मार्टिन लुथर किङ, ल्याटिन अमेरिकी किसान नेता रिगोबेर्ता मेञ्चु अन्य केही अपवाद हुन्। चिनियाँ कम्युनिस्ट पार्टीमा संलग्न मो यान पछिल्ला अपवाद हुन्। परन्तु, गोर्की, लु सुनजस्ता संसारप्रिय लेखक कम्युनिस्ट भएकै कारण पन्छाइएका दुर्भाग्यपूर्ण घटनाको क्षतिपूर्ति यस्ता एकाध अपवादबाट हुन सक्दैनन्।
(एजेन्सीहरूको सहयोगमा)
Source : http://www.nagariknews.com/saturday/48001-2012-10-20-11-54-15.html

No comments:

Post a Comment