नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Wednesday, October 31, 2012

रेडियो राज

गुणराज लुइँटेल

लोकतन्त्र जनताका लागि जनताद्वारा गरिने जनताको शासन हो भने पत्रकारिता जनताबारे गरिने काम हो। त्यसैले अहिलेको नयाँ मिडियामा जनताको प्रतिनिधित्व हेर्ने प्रयास भइरहेको छ। परम्परागत मिडियाले पनि जनताकै बारेमा लेख्ने वा बोल्ने हो भने नयाँ मिडियाले झन् व्यक्तिलाई समेत बोल्ने मञ्च दिन्छन्। 

परम्परागत हुन् वा नयाँ मिडिया पत्रकारिताको आधारभूत स्वरुप भने उही हो। पत्रकारिताको काम नागरिकलाई जानकार बनाउने हो। त्यो पनि तिनकै बारेमा बोलेर वा लेखेर। माध्यमका बारेमा धेरै अल्मिलिनु भन्दा पनि प्राप्त माध्यमको अधिकतम उपयोग सुसूचनाका लागि हो। फरक यति हो नयाँ माध्यममा जस्तोसुकै सूचना बेरोकतोक जान सक्छ। तर, परम्परागत मिडियाको सुन्दरता भनेको यसको 'गेटकिपिङ'को काम हो। यसले सूचनालाई सार्वजनिक उपभोगका निम्ति पठाउनु अघि त्यसको शुद्धताको परीक्षामात्र गर्दैन त्यो सूचना दिनु हुन्छ वा हुँदैन भन्ने विचारसमेत गर्छ। 


अचेल फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालको चर्चा धेरै छ। तिनले मानवीय सेवादेखि अपराध कर्ममा समेत प्रभाव पार्ने गरेका छन्। हालैमात्र प्रश्नपत्र फेसबुकमा राखेका कारण त्यसका दोषीसम्म पुग्न प्रहरीले सफलता हासिल गरेको थियो। इन्डोनेसियामा गरिएको एउटा अनुसन्धानमा फेसबुकका कारण किशोरकिशोरीले चाँडो बिहा गर्न थालेको तथ्य फेला परेको छ। 


हाम्रो भूभौगोलिक यथार्थ र इन्टरनेटको पहुँचका आधारमा भने अझै यस्ता सामाजिक सञ्जाल प्रभाव सबैतिर पुगिसकेको छैन। रेडियो अझै हाम्रो सूचनाको महत्वपूर्ण माध्यम हो। इन्टरनेटमा इपेपर पढ्नसक्ने क्षमता धेरैको छैन। तर, हामीकहाँ रेडियोमा पढिने समाचार दुर्गम गाउँमा बस्नेका निम्ति समेत सूचनाको राम्रो स्रोत हो। 



नेपाल टेलिकमले इन्टरनेटको पहुँच १८ प्रशित नेपालीमा रहेको दावी गरे पनि विश्व बैंकको भर्खरैको तथ्यांक अनुसार यो ७.९ प्रतिशत मात्र छ। अझ मोबाइल फोनका कारणले मात्र इन्टरनेट गाउँगाउँसम्म पुगेको हो। अन्यथा यो जिल्ला सदरमुकामकै सीमित छ। मोबाइलमा इन्टरनेट गाउँमा पुगे पनि त्यसको प्रयोगका निम्ति स्मार्ट फोन किन्ने र प्रयोग गर्ने हैसियत गाउँमा भइसकेको छैन। र, तिनको प्रयोग बढाउन सस्तो सेवा उपलब्ध पनि गराइएको छैन। 


हामीभन्दा कैयन गुणा बढी इन्टरनेटको प्रयोग गर्ने मुलुक इन्डोनेसियामा रेडियोको सफलता लोभलाग्दो छ। हालै इन्डानेसियाको जोगजकार्तामा आयोजित नयाँ मिडियासम्बन्धी कार्यक्रममै भाग लिन गएका बेला त्यहाँको रेडियो रिपब्लिक अफ इन्डोनेसिया (आरआरआइ)को सफलताबारे बुझ्ने मौका प्राप्त भयो। आरआरआइले विपत्ति व्यवस्थापनलगायतका सामाजिक काममा समेत उल्लेख्य सफलता हासिल गरेको रहेछ। 


'हामी अचेल फेसबुक र टि्वटरका मात्रै कुरा गर्छौं,' कोनर्ड एडेन्युअर स्टिफटुङका एसिया मिडिया कार्यक्रम निर्देशक पल लिनार्जले आरआरआइको भव्य सभाकक्षमा आयोजित कार्यक्रममा भने, 'हामीले रेडियोबारे कुरा गर्न बिर्सिसकेका छौं।'
एसियाली मुलुकमा खासगरी दक्षिणपूर्वी मुलुकहरू इन्डोनेसिया, फिलिपिन्स, थाइल्याण्ड, सिंगापुरमा इन्टरनेटको पहुँच हामीकहाँभन्दा बढी छ। इन्डोनेसियाली समाचार संस्था अन्तरा न्युज एजेन्सीका पत्रकार एडी उतामाले हालै प्रकाशित पुस्तक 'द सोसल मिडिया (रि) इभोल्युसन' मा उल्लेख गरेअनुसार इन्डोनेसिया संसारको दोस्रो ठूलो फेसबुक चलाउने देश हो। जनवरी २००९ मा १० लाख फेसबुक प्रयोगकर्ता भएकोमा मध्य अक्टोबर २०११ मा यो संख्या ४ करोड पुगेको थियो। यो सख्यामध्ये आधा मोबाइट इन्टरनेट प्रयोगकर्ता हुन्। 


इन्डोनेसियाले सन् २०१८ सम्ममा सम्पूर्णरुपमा डिजिटल युगमा प्रवेश गर्नेछ। टापु नै टापु भएको यो मुलुकले रेडियो, टेलिभिजन र इन्टरनेटका निम्ति दु्रत गतिमा काम गरिरहेको छ। तैपनि रेडियोको महत्तालाई यसले बिर्सेको छैन। त्यसमा पनि आरआरआइलाई पूर्ण व्यवसायिक सार्वजनिक प्रसारकको रुपमा विकास गरेको छ। 


आरआरआइकी निर्देशक अध्यक्ष रोसारिता निकेन विदियास्तुतीले सार्वजनिक प्रसारकका रुपमा विभिन्न संस्थाहरूसँग मिलेर काम गर्ने गरेको बताइन्। देशभर ६७ स्टेशन र १० वटा उत्पादन स्टेशन रहेको आरआरआइले रेडियोमा आधारित नागरिक पत्रकारिता गर्ने गरेको समेत उल्लेख गरिन्। अक्टोबर २०१० मा माउन्ट मेरापीमा ज्वालामुखी विस्फोट हुँदा आरआरआइले रेडियोले घटना पीडित बालबालिका र वृद्धहरूलाई संगीत र कथा सुनाएर पीडाबाट मुक्त बनाउने काम गरेको थियो। 


'यसको लागि हामीले छुट्टै विशेष च्यानल खडा गरेका थियौं,' उनले भनिन्, 'हामीले घटनाका बारेमा छलफल र विशेषज्ञहरूका विचारसमेत तत्कालै प्रसारण गरेका थियौं।'


रोसारितालाई सुनेपछि विगतमा रेडियो पत्रकारितासमेत गरेका पलले रेडियो माध्यमका बारेमा मुग्धकण्ठले चर्चा गरेका थिए। दुई दिनजस्तो विशेष गरी नयाँ मिडियाकै बारेमा मात्र छलफलमा व्यस्त रहेका उनले रेडियो अझै पनि धेरै मुलुकका निम्ति महत्वपूर्ण सञ्चार माध्यम रहेको बताएका थिए। संसारकै दोस्रो ठूलो फेसबुक चलाउने मुलुकका निम्ति त यसको महत्व छ भने अरुका निम्ति नहुने कुरै भएन। 


'संसारभरि रेडियो निःशुल्क सुन्न पाइने भएकोले पनि महत्वपूर्ण छ,' पलले भने, 'सार्वजनिक स्पेस निर्माण गर्ने पनि रेडियो नै एकमात्र सार्वजनिक माध्यम हो।'


इन्टरनेट माध्यम प्रयोग गर्ने फेसबुक वा टि्वटरजस्ता माध्यम वा ब्लगले पक्कै पनि आफूलाई अभिव्यक्त गर्न चाहने व्यक्तिलाई अवसर दिएको छ। तर, यसको प्रयोग गर्न नसक्ने निरक्षर ठूलो जनसंख्या अझै गाउँमा बस्छ। कम्तिमा त्यसले सस्तो रेडियो सेट र व्याट्री प्रयोग गरेर सूचना पाउन सक्छ। र, तिनले बोल्न सक्छन्। रेडियो मार्फत नागरिक पत्रकारितालाई विस्तार गर्ने हो भने लेखपढ गर्न नसक्ने व्यक्तिले पनि बोलेर आफ्नो धारणा राख्न सक्छन्। 


नयाँ सामाजिक मिडियाको व्यापकता रहे पनि सर्वसाधारणलाई आवाज दिन अझै पनि परम्परागत माध्यमको आवश्यकता रहेको ठान्ने धेरै छन्। इन्टरनेटकै युग भनिए पनि छिमेकी मुलुक भारतमा अखबारको व्यापक विस्तार भइरहेको छ। भर्खरै चर्चित अमेरिकी साप्ताहिक पत्रिका न्युजविकले यो वर्षको डिसेम्बर अंकपछि डिजिटल संस्करणमा मात्र सीमित हुने घोषणा गरेको छ। त्यस्तै अमेरिकाकै अर्को चर्चित अखबार न्यूयोर्करले यो बेला पनि भारतीय अखबार चल्नु पछाडिको कारण खोज्दै ९ पृष्ठ लामो 'सिटिजन्स जैन' नामक आलेख प्रकाशित गरेको छ। 


टाइम्स अफ इन्डियाका कसरी एउटा अखबारभन्दा पनि मार्केटिङ कम्पनी बनेर कमाइ गर्दैछ भन्ने तथ्य न्युयोर्करले सार्वजनिक गरेको छ। पश्चिमा मिडिया जगतका बादशाह रुपर्ट मुर्डकको साम्राज्य टाइम्स अफ इन्डियाभन्दा २० गुणा ठूलो छ। तर, मुर्डकको कमाइ भने टाइम्स अफ इन्डियाको भन्दा कम छ। धेरैले गाली गर्दागर्दै पनि अहिले भारतीय संचार माध्यम टाइम्स आफ इन्डियाको मोडलतर्फ आकर्षित हुन थालेको टिप्पणी पनि हुँदैछ।


अखबार सस्तो भएकै कारण भारतमा यसको प्रभाव अझै बढिरहेको छ। त्यस्तै इन्टरनेटको पहुँच अझै सबै ठाउँ पुगेको छैन र यो सस्तो पनि छैन। त्यही अवस्था हामीकहाँ पनि हो। अखबार वा इन्टरनेटमा आधार संचार माध्यम अझै पनि महँगा छन्। साथै इन्टरनेटमा राखिएका सामग्रीका निम्ति शुल्क लगाउने अवस्थामा अझै पनि हामीकहाँ संचारमाध्यम पुगिसकेका छैनन्। 


फेरि सित्तैमा सूचना पाइरहेको अवस्थामा किनेर यसको उपभोग गर्ने कति होलान् भन्ने प्रश्न आफैंमा छ। हालै फेसबुकले आफ्ना प्रयोग कर्ताको संख्या एक अर्ब पुगेको घोषणा गर्‍यो। ७ अर्बको संसारमा एक अर्ब प्रयोगकर्ता भए पनि यसको व्यवसायिक मोडल कति भरपर्दो होला भन्ने प्रश्न नउठेका होइनन्। 


समाचारको संसारमा 'फ्रि लन्च हुन्न' भन्ने गरे पनि विज्ञापनको ठूलो आम्दानी भएका अखबार मात्र संस्तोमा पाइन्छन्। इन्टरनेटबाट आउने सामग्री पनि गुणस्तरयुक्त भए झन् महँगोमा किन्नु पर्ने हुन्छ। यस अर्थमा अझै पनि रेडियो सस्तो र भरपर्दो छ। तर, त्यसलाई सत्ताधारी दल वा यसको स्वामित्व रहेका व्यक्तिको स्वार्थबाट माथि उठेको सार्वजनिक रेडियोले अझै राज गर्न सक्छ। त्यसका निम्ति बिबिसी वा आरआरआइ रेडियोको मोडल पत्रकारिता जोगाउन र सर्वसाधारणलाई सुसूचित गर्न उपयुक्त हुने प्रष्ट छ। 

Source : http://www.nagariknews.com/saturday/48178-2012-10-27-10-38-14.html

No comments:

Post a Comment