नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Thursday, May 31, 2012

नेपालमा अभूतपूर्व जातीय एकता

सुजीव वज्राचार्य

Source : http://www.newsofnepal.com/non/newsdetail.php?id=65037

२०४७ सालमा गजेन्द्रनारायण सिंहले खुल्ला मञ्चमा आमसभा गर्दा ढुंगा हानेर आमसभा विथोल्दै मधिसे भन्दै आयोजकहरुलाई खेदेका थिए। कैयौं त घाइते भएर वीर अस्पतालमा भर्ना भए। आनै देशभित्र भए पनि सिंहका कार्यकर्ताहरुलाई गैरहरुको भूमिमा लडाइँमा परेको जस्तो महसुस भयो। यस्तो क्रन्दन वीर अस्पतालभित्र घाइते मधेशी कार्यकर्ताबाट सुनिन्थ्यो। २०५६ सालमा पुग्दा स्थिति बदलियो। सर्वोच्च अदालतले हराइदिएका काठमाडौंका नेपालभाषा–भाषी र धनुषा र राजविराजका मैथिल भाषाभाषीले समान पीडाको महसुस गरे। अनि जेठ १८ विरुद्धको संघर्षमा तराईका मैथिलभाषीहरु र पहाडका जनजातिहरु सँगै देखा पर्न थाले।

२०६८ सालको अन्त्यसम्म आइपुग्दा स्थितिले कोल्टे फेर्‍यो। मधेशी मोर्चाले राज्यसत्तालाई चुनौती दिन त्यही खुल्ला मञ्चमा बृहत् आमसभा गर्‍यो, जसमा मल्ल के. सुन्दर र परशुराम तामाङलाई पनि अतिथिको रुपमा बोलाइएको थियो। अनि २०६९ जेठ ६ गते खुल्लामञ्चमा नेवा- स्वायत्त राज्य मंका- संघर्ष समितिले गरेको नेवारहरुको विशाल सभामा उपेन्द्र यादवलाई पनि सम्मानका साथ अतिथि बनाइयो। अहिले नेपालमा एक थरी ढोल पिट्नेहरुले जातीय सद्भाव बिग्रन लागेको भन्दै हल्ला मच्चाउन थालेका छन्, तर वास्तविकता यसको ठीक उल्टो छ, नेपालको इतिहासमा कहिल्यै नभएको जातीय एकता अहिले देखिएको छ, त्यो सडकदेखि संविधानसभासम्म एकछत्र रुपमा देखिन थालेको छ। संविधानसभामा पनि ३२० जनाले चारबुँदे मागमा हस्ताक्षर गरेर अजीवको एकता प्रदर्शन गरिदिए। जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने संविधानसभाका बहुमत सभासद्ले संविधान निर्माणमा सर्वाधिक विवादमा परेको भनी देखाइएको विषयमा चार वटा बुँदाको माग पत्रमा हस्ताक्षर गरे।


हिमालदेखि तराईसम्म एउटै चिराको अञ्चल बनाएर अञ्चल पञ्चायत र अञ्चलसभा बनाउने दरबारले पनि अञ्चल पञ्चायत र सभा ज्यादा चलाउन सकेन। अन्ततोगत्वा पञ्चायतकालमा राजाले मनोनीत गर्ने अञ्चलाधीशको कार्यक्षेत्रभन्दा बढ्ता अञ्चल रहन सकेन। पछि त ठेगाना लेख्नेले शुद्ध अञ्चलको नाम लेख्न छोडिसक्यो।
म बस्ने घर मेरै नाममा होस् न अनि मैले छिमेकीलाई बोलाउँछु, मेरा ठूलाबाहरुले आनो नाममा पारेको छ, उनीहरुकै मनोमानी चल्छ, अनि म छिमेकीहरुलाई कसरी बोलाऊँ ? भन्ने खालको सामान्य मनोविज्ञानले काम गर्छ। यो वास्तविकताको रुपरंग अहिले सडकदेखि सदनसम्म एकजुट भएर देखाएका, आफूलाई मनोनीत गर्ने दलहरुलाई समेत चुनौती दिने शक्ति बटुलेका हिमालका शेर्पादेखि तराईका यादवसम्मको अपूर्व एकताले देखाएको छ।

यो मुलुकमा २४० वर्षसम्मको एकात्मक शासन व्यवस्था राजनीतिक रुपमा मात्र एकात्मक थिएन, त्यसमा एउटा वंशको शासन चल्थ्यो, त्यसमा एउटै भाषालाई राष्ट्रभाषा बनाएर विद्यालयदेखि विश्वविद्यालयसम्म अनि थानादेखि अदालतसम्म अनिवार्य नै जस्तो गरी चलाइयो। अरु भाषाहरु आ–आनो घरमा आफैंले छोराछोरीलाई बच्चैदेखि सिकाएर, गाली गरेर घरभित्र मात्र चलाउनु पर्ने स्थितिमा पुर्‍याइदियो। यो काम देशका अतिवादी बाहुनवादहरुको काम हो भनेर जम्मैले जानेका छन्। त्यसैले आना छोराछोरीसँग मात्र कति भिड्नु यो मौकामा ती ‘पोलिसी मेकर’ अतिवादी बाहुनवादलाई पनि झपारौं भनेर सडकमा गाली गरेको सुनिएको हो।

अतिवादी बाहुनको नाम लिएर गाली गर्दैमा जातीय सद्भाव कसरी बिथोलिन्छ ? यो त पहिल्यैदेखि राजतन्त्र नरहे देश भारतले खान्छ र जाति–जातिबीच युद्ध हुन्छ भनेर हल्ला फिजाउँदै देशको दानापानी आनो घरतिर सोझ्याउनेहरुले भेट्टाएको निहुँ मात्र हो। यसअघि नेपालको इतिहासमै ठूल्ठूला परिवर्तनहरुलाई परिवर्तन नगराउनको लागि थुप्रै हल्लाहरु फैलाए। एकात्मक राज्य व्यवस्थाको सँधैको लागि अन्त्य गर्न गणतन्त्रको स्थापना गर्ने आन्दोलनलाई नेपालमा राजा नभए देशै चल्दैन, राजा गए रक्तपात हुन्छ भन्दै राजावादीहरुले यथास्थितिवादी चिन्तनलाई कायम गर्न थुप्रै हल्ला फैलाए। अन्तत- त्यो हल्लै मात्र हो भन्ने कुरा आज गणतन्त्र आएको पाँच वर्षपछि पुष्टि भइसकेको छ। राजा जाँदैमा रक्तपात हुँदैन, देश बिग्रेको घडीको सुइ जस्तै एउटै समयमा रहँदैन।

यसै गरी बहुधार्मिक देशमा राज्यले हिन्दू धर्मलाई मात्र महत्त्व दिएर नेपाल हिन्दू राज्य बनाइयो। विविध धार्मिक देशमा यसरी नेपाललाई एक धर्म मान्नु हुँदैन भनेर आवाज राख्दा धर्मनिरपेक्षता भएमा देशमा धार्मिक दंगा हुन्छ भनेर सदियौंदेखि भ्रममा पार्ने जनतालाई चेतावनीको भाषामा धार्मिक दंगा हुने भयमा देश चलायो। तर अन्तत- २०६३ सालको जनआन्दोलनपछि नेपाल धर्मनिरपेक्ष राज्य घोषणा गरियो। तर खोइ, जसरी विगतमा हल्ला र भय फैलायो, त्यसरी नेपालमा न धार्मिक दंगा नै भएको छ, न त धार्मिक सद्भाव नै बिग्रिएको छ। अहिले त्यही बाटोमा पहिचानसहितको प्रदेश निर्माण गर्नु पर्‍यो भनेर बहुजातीय नेपालका आदिवासी जनजातिहरुले आवाज उठाएपछि फेरि एकपल्ट पहिचानको राज्य दिए जातीय दंगा हुने, देश टुक्रिने हौवा फैलाएर साँच्चिकै नयाँ नेपाल बनाउने कार्यमा ठूलो अवरोध फैलाउने कार्य प्रतिगामी र यथास्थितिवादी तत्त्वहरुले गर्दै आएको छ। जो पहिले पनि यस्तै भ्रमको खेती गर्नेहरुले गरेका थिए। तर यथार्थ पृथक छ। आज नेपालका सबै आदिवासी जनजातिहरु एक थलोमा बसेर नेपालको राष्ट्रिय पहिचान र राष्ट्रियताप्रति अपूर्व एकता देखाएको छ।

देशको प्रगति, साँच्चिकै परिवर्तन र नयाँ नेपाल निर्माणलाई जगैदेखि भत्काउन, गाउँटोलतिर फेरि प्रचण्डभन्दा पनि चर्को माओवादी, झलनाथभन्दा चर्को एमाले, सुशील कोइरालाभन्दा पनि चर्को कांग्रेस भनेर नेता रिझाई आनो स्वार्थ पूरा गर्न जानेका मान्छेहरु एक थरी फेरि सत्ता रिझाई व्यापार चलाउनेहरु हुन्– तिनीहरुले फेरि सद्भावसभा गरे। देशमा सदियौंदेखि जातीय सद्भाव कायम छ भन्ने तर केही आन्दोलनकारीले आनो आक्रोश सडकमा पोख्दा सदियौंदेखिको सद्भाव खल्बलिएको देख्ने कस्ता मान्छे हुन् ? पहिचान नभएका जनताले पहिचान चाह्यो भन्दैमा जातीय सद्भाव कसरी बिग्रन्छ ? साँच्चिकै सद्भाव ल्याउने हो भने पहिचान देऊ, सद्भाव कायम गर भन्ने कुरो मुख्य हो। नेपालमा करोडौं करोड जनताले सदियौंदेखि कायम राखेको कुरा केही मान्छेले दुई दिनमा भत्काउन सक्ने फत्तूरको प्रचार गर्नेहरुलाई धिक्कार छ, यस्तै कमजोर मानसिकता राख्ने भएरै हो नेपालमा विदेशी चलखेल बढेको। सबै खाले सद्भाव बिग्रन थालेको हो, अन्तत- यसको निकास पूर्ण क्रान्ति आवश्यकता हो भन्न अब नेपाली जनता बाध्य भएका छन्।