नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Friday, February 5, 2010

इन्भर्टर जीवन शैली

Bulbul 
इन्भर्टर जीवन शैली

राज श्रेष्ठ



हामी दैनिक ११ घण्टाको लोडसेडिङ्को मारमा छौँ । विद्युत् प्राधिकरण यसको अवधि अझ बढ्न सक्ने भन्छन्। एकडेढ वर्ष अगि आम नेपालीले नामै नसुनेको एउटा विद्युतीय उपकरण यतिखेर हाम्रो आवश्यकता हुन आएको छ। कति चाँडो इन्भर्टर नामधारी यो वस्तु हाम्रो जीवनको अभिन्न अङ्ग भइसकेछ। बजारमा यसको विक्री ह्वात्तै बढेकोछ। आधारभूत आवश्यकता भइसकेको छ, यो वस्तु। जो भेटिन्छ, उ इन्भर्टर किन्न दौडिएको छ। गृहिणीहरू आफ्नो श्रीमानलाई भन्दै गरेकी भेटिन्छ - "यसपाली त एउटा इन्भर्टर जसरी पनि किन्नै पर्छ है, भन्द्'याछु ।"

दक्षिणको छिमेकी देश भारतलाई साधुवाद छ, नेपाली उपभोक्ताको आयले धान्न सक्ने मूल्यमा इन्भर्टर उपलब्ध गराइदिएकोमा। आवश्यकताअनुसार बजारमा विभिन्न कम्पनीका थरिथरिका इन्भर्टरहरू पाइन्छन् - तीनओटा सिएफ्एल् चिम बल्ने, सोलार प्यानलसहितको, कम्प्युटर, टिभी, पानी तान्ने मेसिन चलाउन सक्ने सम्मको क्षमता भएका। पच्चिससय देखि सुरू हुँदै सवालाख रूपैँयासम्मका, मध्यम वर्गदेखि उच्चसम्म, आ-आफ्नो हैसियतअनुसार सबैले किन्न सक्ने। अझ निम्न वर्गको पहुँच हुने गरी सस्तैमा लोडसेडिङ् भगाउन चाहनेहरूका लागि उत्तरको छिमेकी देश चिन आफ्ना आश्चर्यजनक उत्पादनहरूका साथमा रिचार्जेबल इमर्जेन्सी एल्इडी ल्याम्पहरू काठमाडौंका असन, महाबौद्ध र सडकका फूटपाथ भरी सयौँ आकर्षक डिजाइनमा उपस्थित छ। हुन त इन्भर्टरका सिएफ्एल् चिमहरूमा पनि चिन कै उत्पादन बढी छन्, क्यारे।

यस अर्थमा ठूलै गुण लगाएका छन् छिमेकी देशहरू भारत र चिनले हामीलाई । लोडसेडिङ्को यो कहाली लाग्दो रातमा, सिएफ्एल् चिमको मधुरो उज्यालोमा, चार्ज सकिन लागेको मोबाइल फोनमा, गुलाम अलीको क्लासिकल आवाजमा रम्दै, चिया कफीको चुस्की लिंदै "अपनी धुन में रहता हूं, मै भी तेरे जैसा हूं" सुन्नुको मज्जा नै बेग्लै। अनिश्चित सुदूर भविष्यलाई नियाल्दै "ओ पिछले रुट के साथी, अब की बरस मैं तन्हा हूं" सुन्नुको अनुभव शब्दमा वर्णन गर्न सकिन्न।

एफ्एम् रेडियोको त्रे्कज फेरि बढेको छ। एक से एक प्रतिस्पर्धी कार्यक्रम लिएर एफ्एम् रेडियो स्टेसनहरू थुप्रैको मोबाइलफोन भएर बज्न थालेका छन्। सडक, माइक्रोबस, कार्यालय र घरडेरा जहाँसुकै युवा र अधबैँसे धेरैका कानमा इयरफोन झुन्डिएका देखिन्छन्। माइक्रोबसको पत्यारलाग्दो कुराई, घण्टौँको ट्राफिक जाम, कार्यालयका फुर्सदिला क्षण, साँझमा घरडेरामा लोडसेडिङ्को बेला, साथीको रूपमा आइदिन्छ, एफ्एम। एफ्एम् सुविधा भएका मोबाइलफोनले नयाँ जीवन दिएको छ, एफ्एम् रेडियोलाई।

साँझ निस्पट्ट अँध्यारोमा मेरो अगाडि एक युवाजोडी एकअर्काका हात समात्दै हिडिरहेका हुन्छन्। उनीहरूको मोबाइलफोनबाट 'सुन्दा नि रमाइलो लाग्ने' एउटा गीत बजिरहेको छ - "साइनिङ् अन द सेड इन सन लाइक अ पर्ल अप‌्न द ओसन, कम एन्ड फिल मि, हां हिल मि ... तो क्यूं ना मैं भी कहे दुं कहे दुँ, हुआ मुझे भी प्यार हुआ ...।" सुमधुर सङ्गीतसँगै मन बहकिने रोमान्टिक गीत। कन्डक्टरको मोबाइलफोन देखि मस्त युवतीका आइपोडसम्मको बाटो हुँदै थुप्रै पटक यो गीतले मेरो कानमा ठक्कर दिइसकेको छ। यो गीत मेरो मेमोरी कार्डमा डाउनलोड नगरी भएको छैन। त्यसो त मेरो मेमोरी कार्ड गुलाम अली र जगजीत सिंहका गजलहरूले फुललोडेड् छन्। एफ्एम् सुन्न मन नलागेको बेला छानीछानी मोबाइलफोनमा एमपिथ्री गाना सुन्ने मलाई बानी परिसकेको छ।

लोडसेडिङ्को सबभन्दा ठूलो मार त टिभी कार्यक्रमहरूले पो खेपिरहेकाछन् । टेलिभिजनका चर्चित सिरियलहरू कुन्नि कुनबेला पखेटा लगाएर उडिसकेकाछन्। अटुट् रूपमा दिनै पिच्छे सिरियल हेर्ने युवती र गृहिणीहरूको दैनिकी परिवर्तन भएको छ। बत्ती आएको बेला टिभीका पर्दामा आक्कलझुक्कल मात्र देखिन्छन्, सिरियलका कलाकारहरू अचेल। मेरै सन्दर्भमा कुरा गर्दा 'मेरो कअअलेज्'कहाँ पुग्यो, थाहा छैन। 'घरभेटीबा'ले उहिल्यै बाटो तताइसके। 'पवनकली'लाई नभेटेको त कति दिन भोभो। हिन्दी सिरियल 'विदाई'का गोरी र काली दिदीबहिनी युवतीहरू जीवनको कुन मोड्मा छन्, थाहा छैन। सिआइडीले मुम्बइको कुन इलाकामा अनुसन्धान गर्दैछन्, थाहा छैन। एक्कै चोटी राती सवा दस बजे टिभी अन् गर्न पुग्दछु र नितान्त भिन्दै च्यानलमा आफूलाई पाउँदछु। (फेसन टिभीमा चाँही होइन नि)

यतिखेर प्राधिकरणको प्रसारण लाइनको विद्युत् कतिखेर मेरो कोठामा झुल्कन आउँछ भनेर म प्रतिक्षारत छुँ। लोडसेडिङ्को सेड्युलले काम गर्न छोडेको तीनचार दिन भइसक्यो। कुनबेला बत्ती आउँछ, मैले हेक्का राख्न छाडिसकेँ। तर सधँै मलाई बत्तीको प्रतिक्षा भने रहन्छ। फेसबुकमा साथीहरूलाई भेट्नु छ, उनीहरूको भावनासँग आफ्नो भावना साट्नु छ, कसैको फोटो कमेन्ट गर्नु छ, कसैलाई नयाँ साथी बनाउनु छ, कसैको साथी बन्ने प्रस्तावलाई स्वीकृति दिनु छ। इमेल पठाउनु छ, इमेलको जवाफ दिनु छ। फेसबुक भित्र एउटा छुट्टै संसार छ, मेरो। इन्टरनेट भित्र एउटा छुट्टै ब्रम्हाण्ड छ, मेरो। एक घण्टा, सवा एक घण्टासम्म म त्यही संसार, त्यही ब्रम्हाण्ड भित्र हुन्छु।

यतिखेर सवा दस बजेको हुनुपर्दछ। अब छिट्टै नै अर्कै छुट्टै संसारमा पस्ने तयारी गरिरहेको हुन्छु म। टिभी अन् गर्छु। अतितको इतिहासलाई वर्तमानमा अनुभव गर्न म चाहन्छु। यतिबेला सधैँ मेरो रोजाइमा एउटै च्यानल पर्दछ -'फक्स हिस्ट्री च्यानल। ६० को दशकमा तत्कालीन सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकाबीचको शीतयुद्ध उत्कर्षमा थियो। रुसीहरूले पृथ्वीको कक्षमा मानवनिर्मित पहिलो कृत्रिम उपग्रह 'स्पुटनिक' सफलताका साथ प्रक्षेपण गरेकाथिए। अमेरिकाका लागि यो पर्लहार्वरको आक्रमण जत्तिकै थियो। राष्ट्रपति जोन एफ् केनेडी 'चन्द्रमामा मानवसहितको अन्तरिक्षयान सफलतापूर्वक उतार्न अमेरिकाले सम्पूर्ण शक्ति लगाउने छ' भन्ने घोषणा गर्दछ। सोच्दैछु, अमेरिकाबाट हजारौँ मील टाढा, दक्षिण एसियाको सबभन्दा विपन्न देश नेपालमा बसेर चन्द्रमाको कुरा गर्नु अर्थहीन लाग्दछ। मलाई सम्झना आउँछ, धेरै पहिलेको, म भरखरको ठिटो हुँदो हुँ। त्यसताका हेरेको एक नेपाली चलचित्रको जसमा नायक रविन्द्र खड्का रक्सीको बोतल हातले हल्लाउँदै, मात्तिदैँ लभट्रेजेडीमा गाउँदै हिँड्छ - "मान्छे चढ्यो जूनमा कसरी मानूँ म? (चाहिने कुरा हो?) मैले जून छुन खोज्दा डढी सक्या'छु। मान्छे जति परदेशिदा कल्ले रोक्यो र? ज्यान गए जान्छ को पो जिउँदो देख्छु यहाँ?"(चलचित्र : मायाप्रीति)। एक्काइसौँ शताब्दीको यो दशक मान्छेले मङ्गलग्रहमा पाइला टेक्नेछ। मलाई भने जीउनका लागि आधारभूत आवश्यकताको जोहो गर्दै फुर्सद छैन र क्रमशः आफूलाई ढुङ्गे युगको अन्धकारतिर फर्कदै गएको आभास हुन्छ।

राज श्रेष्ठ
कीर्तिपुर काठमाडौं।

यो लेख February 3, 2010 मा उज्यालो ९० नेटवर्क एफ.एम. बाट प्रसारण हुने गजल कार्यक्रम 'बुलबुल' मा रात्री गन्थनको रुपमा प्रसारण गरिएको थियो । यस कार्यक्रमका प्रस्तोता अच्युत घिमिरे र उत्पादन सहयोगी दिनेश निरौला हुनुहुन्छ । यो कार्यक्रमको यो इपिसोड र यस अगिका सबै इपिसोडहरू http://www.bulbulnp.com/ र www.unn.com.np (for latest episode) मा सुन्न र डाउनलोड गर्न सकिन्छ । http://www.bulbulnp.com/ ब्लगका निर्माता कुमार पुडासैनी हुनुहुन्छ । उज्यालो ९० नेटवर्क एफ.एम. र बुलबुल युनिटलाई मेरो आभार ।

The link to the songs mentioned in this story

Apni Dhun Mein - Ghulam Ali Songs - Ghazal - Mehfil Mein Baar Baar 


 



Shining in the Shade in the Sun like a pearl upon the ocean.
 

No comments:

Post a Comment