नेवा: स इन्टरनेट रेडियो

Sunday, May 10, 2020

अनलाइन कक्षा सम्बन्धमा

राज श्रेष्ठ, पोखरा

(लेखक लामो समय सम्म शिक्षा क्षेत्रसँग आवद्ध हुनुहुन्थ्यो ।)
"अनलाइन प्रविधिमा जान स्मार्ट फोन, इन्टरनेट कनेक्टिभिटी मात्रै भएर पुग्दैन । शिक्षक-शिक्षिकाहरुमा सूचना प्रविधिलाई अनलाइन कक्षामा कसरी प्रयोग गर्ने भन्ने प्राविधिक सीप पनि हुनु जरुरी छ । चक-डस्टर ब्ल्याकबोर्ड बाट ह्वाइटबोर्ड, मार्करपेन हुँदै प्रेजेन्टेशन स्लाइड सम्म आइपुग्दा पनि अझै अनलाइन पद्धतिका लागि आवश्यक शैक्षिक सामग्री उत्पादन गर्न सक्ने प्रविधिको प्रारम्भिक चरणमै हामी छौं ।"
Durbar High School, SLC Coaching Class, 2047 B.S.
"आइसिटि इन एजुकेशन" शिक्षा क्षेत्रका विद्वानहरुले एक दशक भन्दा अगाडि देखि नै प्रचारमा ल्याएका नारा हुन् । यस सम्बन्धमा मास्टर प्लान नै बन्यो । उपलब्धी के कति भयो ? अनुसन्धान र खोजको विषय बन्लान् ।
मेरो अनुभवले भन्छ भर्चुयल क्लासरुम र अनलाइन शिक्षाको नाममा केवल शिक्षकले कक्षा कोठामा पढाइ रहँदाको दृश्य टेलिभिजनका पर्दामा प्रसारण गर्ने र भिडियो खिची यूट्युबमा अपलोड गर्ने काम मात्र भयो ।
कम्प्युटर स्क्रिन र एलइडि टिभीस्क्रिनहरुमा १५ मिनेट ध्यान एकाग्र गर्न हामीलाई त मुश्किल पर्छ भने विचरा ती विद्यार्थीहरु कक्षाकोठा सदृश्य एकहोरो उही निरस वातावरणमा एक एक घण्टा कसरी बिताए होलान् । चक-डस्टर र ब्लाकबोर्ड बाट ह्वाइटबोर्ड, मार्करपेन, हाइलाइटर र स्लाइड हुँदै भर्चुयल क्लासरुम सम्म आइपुग्दा सिक्ने र सिकाउने कलामा तात्विक के भिन्नता भयो ? मैले उत्तर पाउन सकिन ।
हो, केहि प्रगति भएकै छन् । शिक्षक-शिक्षिकाले कम्प्युटरमा स्लाइड बनाउन सिके । विद्यार्थीहरुले पुस्तकका पानामा भएका पाठहरुका साराशं स्लाइड मार्फत कम्प्युटर स्क्रिनमा देख्न पाए । तर ब्ल्याकबोर्ड र कम्प्युटर स्क्रिनमा तात्विक भिन्नता के भयो त ? हामीले सोच्नै पर्दछ, यो विधिबाट विज्ञान र गणित जस्तो विषयलाई सृजनशील र बोधगम्य तवरले सिक्न र सिकाउन सकियो वा सकिएन । अंग्रेजी भाषाको ज्ञानलाई व्यावहारिक तवरले सिक्न सके वा सिकाउन सकियो । एसईई परीक्षामा यी विषयमा ठूलो मात्रा अनुत्तीर्ण हुने वा कम ग्रेड ल्याउने विद्यार्थी सङ्ख्याले यसको उत्तर दिइरहेको छ । अझ भूगोल र इतिहास जस्ता विद्यार्थी जीवनका धेरैको अनुभवमा कठीन मानिने विषयहरुको कुन हविगत भएका होलान् सोच्न सकिन्छ ।

एसईई परीक्षामा यी विषयहरुमा विद्यार्थीहरुको प्रगति विवरणले भर्चुयल क्लासरुमले उनीहरुको सिकाइमा कतिको योगदान दिएका रहेछन् भन्ने स्पष्ट भैहाल्यो ।
तर संधै यस्तै भएका थिएनन् । विगतमा केही सफल प्रयासहरु पनि भएका थिए । विगतका इतिहास तिर पनि फर्केर हेरौं ।
अहिले अनलाइन कक्षाको कुरा चलिरहँदा सरकारले धेरै वर्ष अगाडि प्रचलनमा ल्याएको दूर शिक्षा कार्यक्रमको बारेमा पनि केहि कुरा गर्नुपर्ने हुन्छ । सरकारले शिक्षा मन्त्रालय अन्तर्गत बालबालिकाहरुलाई रेडियोको माध्यमबाट पठनपाठन गर्न र शिक्षकहरुलाई तालीम दिने उद्देश्य राखेर दूर शिक्षा केन्द्रको स्थापना गरेको थियो । दूर शिक्षा केन्द्र र रेडियो नेपालको सहकार्यमा शैक्षिक कार्यक्रमको उत्पादन गरी प्रसारण हुन्थ्यो । त्यतिबेला प्रसारण हुने रेडियो कार्यक्रमहरु सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी माझ निकै लोकप्रिय थिए र सफल पनि भए ।
पछि दूर शिक्षा केन्द्रको संरचना परिवर्तन गरी खुला विद्यालयको अवधारणा अन्तर्गत तत्कालीन एसएलसी परीक्षाका लागि स्वाअध्ययन शैक्षिक सामग्री उत्पादन गर्ने देखि लिएर त्यतिखेर नै भर्चुयल क्लासरुम सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरु जस्तै आइसिटी प्रयोगशालाहरु सामुदायिक विद्यालयहरुमा स्थापना गर्ने योजना लिएको थियो । त्यतिबेला दूर शिक्षा खुला विद्यालय अन्तर्गत भर्ना भएका परीक्षार्थीहरुले एसएलसी परीक्षामा सामेल भई राम्रो नतिजा ल्याउन पनि सफल भएकाछन् ।

अहिले भने मुलुक संघीयतामा गएपछि ती कार्यक्रमहरुले कति निरन्तरता पाए, कति सफल भए अध्ययनको विषय हुनसक्छ ।
यसरी शिक्षा क्षेत्रमा खुला विद्यालयको अवधारणाबाट सञ्चालनमा ल्याइएका कार्यक्रम सफल भएको मानिनुपर्छ । मूलत: एसएलसी (एसईई) परीक्षालाई लक्षित गरी बनाइएको खुला सिकाइको अवधारणा अहिलेको बन्दाबन्दीको समयमा विद्यालयको आधारभूत तहदेखि विश्वविद्यालय तह सम्मका शिक्षण सिकाइमा लागू गर्ने अभूतपूर्व अवसर आएको छ । त्यतिबेलाका जिम्मवार अधिकारीहरु अहिले शिक्षा मन्त्रालयको महत्वपूर्ण पदहरुमा आसिन हुनुहुन्छ । त्यतिखेरको अनुभवलाई अहिलेको परिस्थितिमा परिमार्जन गरी लागू गर्ने चुनौती उहाँहरु समक्ष छ ।
अनलाइन कक्षा वा दूर शिक्षा जे भनिएतापनि अहिलेको बन्दाबन्दी लकडाउनको अवस्थामा आधारभूत तहमा अध्ययन गरिरहेका बालबालिकालाई घरमै अध्ययन गर्न नेपालीहरुको पहुँच र भरपर्दो माध्यमको रुपमा रेडियो र टेलिभिजनलाई नै मान्नु पर्नेहुन्छ । प्रविधि र संसाधनको पहुँचको आधारमा हेर्दा पनि अनलाइन प्रविधि अधिकांश नेपाली घरपरिवारका लागि क्षितिज भन्दा पर कै देखिन्छ । अनलाइन प्रविधिमा जान स्मार्ट फोन, इन्टरनेट कनेक्टिभिटी मात्रै भएर पुग्दैन । शिक्षक-शिक्षिकाहरुमा सूचना प्रविधिलाई अनलाइन कक्षामा कसरी प्रयोग गर्ने भन्ने प्राविधिक सीप पनि हुनु जरुरी छ । चक-डस्टर ब्ल्याकबोर्ड बाट ह्वाइटबोर्ड, मार्करपेन हुँदै प्रेजेन्टेशन स्लाइड सम्म आइपुग्दा पनि अझै अनलाइन पद्धतिका लागि आवश्यक शैक्षिक सामग्री उत्पादन गर्न सक्ने प्रविधिको प्रारम्भिक चरणमै हामी छौं । जुन कुरा एनसर्ट र सिबिएसइ जस्ता नाम चलेका भारतका शैक्षिक संस्थाले समेत गर्न सकेका छैनन् ।
सिक्काको अर्को महत्वपूर्ण पाटो भनेको अभिभावक स्वयम पनि हो । अनलाइन पद्धतिमा पठनपाठन गर्न विशेषगरी आधारभूत तहका विद्यार्थीहरुको सन्दर्भमा अभिभावकको भूमिकाले ठूलो महत्व राख्दछ । बन्दाबन्दी लकडाउनको यो विषम परिस्थितिमा अभिभावकलाई शिक्षकको भूमिका निर्वाह गर्न बरु उनीहरुलाई शिक्षण विधिबारे संक्षिप्त र व्यावहारिक ज्ञान दिलाउन सके उनीहरुले नै रेडियो, टेलिभिजन र अनलाइनका पत्यारलाग्दो पाठलाई आफ्ना बालबालिका सामू सरस र परिष्कृत रुपमा बुझाउन सक्षम हुनेथिए ।

No comments:

Post a Comment