नेवा: स इन्टरनेट रेडियो

Monday, December 1, 2014

लुम्बिनी खोतल्‍दा



लुम्बिनी खोतल्‍दा
गोविन्द न्यौपाने, ज्ञानिन राई

Source :  http://annapurnapost.com/

'यस पवित्रस्थलको, बुद्धजन्मभूमिको सुन्दरता र प्रगाढ महत्त्वले म अत्यन्त निष्ठावान् भएको छु। जुन राजकुमारले समग्र सुखसुविधाको अवस्था त्यागेर जीवनका उग्र कठिनाइ भरिएको वास्तविकतासँग जुँध्न जुटे अनि पछि विश्वको महानतम् धर्ममध्ये एकको जग बसाले, त्यस्ता (राजकुमारको) जीवनयात्राले म आन्दोलित भएको छु', सन् २००८ मा लुम्बिनी भ्रमणका बेला संयुक्त राष्ट्रसंघको महासचिव महामहिम वान- की- मुनले यस्तो अभिव्यक्ति दिए। 


विश्वको चार प्रमुख धर्म र दर्शनहरू हिन्दु, बुद्ध, इस्लाम र इसाई एसिया महादेश नै जन्मेहुर्केर सम्पूर्ण विश्व समाजमा फैलिएका हुन। खासगरी बाँच र बचाऊ भन्ने मानवतावादी दर्शन बोकेका प्रमुख दुई हिन्दु र बौद्ध दर्शनले सिञ्चित नेपालले विश्‍व समाजको माझमा प्रमुख भूमिका खेल्नुपरेको छ र यसको लागि संयुक्त राष्ट्रसंघको माध्यमबाट आफ्नो भूमिकालाई उठान गर्नु नै आजको महत्त्वपूर्ण आवश्यकता देखिन्छ। यसै पृष्ठभूमिमा लुम्बिनीको दार्शनिकता, विभिन्न व्यक्तिहरूको आगमनको शृंखला र पुरातात्त्विक गतिविधिहरूको संक्षिप्त चर्चा गर्नु नै यस लेखनको उद्देश्य रहेको छ। 

 बौद्ध साहित्‍य
विभिन्‍न बौद्ध साहित्यहरूमा प्रदिमोक्षवनको रूपमा नामांकित लुम्बिनीमा महामानव भगवान् बुद्धको जन्म ई.पू. ६२३ मा भएको थियो। उहाँको स्थूल शरीरले करिब ८० वर्षको उमेरमा ई.पू. ५४३ मा सांसारिक जगतबाट विश्रान्ति लिए पनि उहाँ आप्त वचनको प्रतीकको रूपमा आज सम्म पनि हामीमाझ उपस्थित हुनु भएको छ। उहाँको महापरिनिर्वाणपछि उहाँले सम्प्रेषण गर्नुभएको उपदेशहरू र निर्देशनहरू नहराउन र नबिर्सिऊन भनेर उहाँका सम्पूर्ण अनुयायीहरूको प्रथम संगिती अजात शत्रुको राज्यकालमा राजगृहमा ई.पू. ४८३मा सम्पन्न गरियो। 

बुद्ध भगवान्ले सम्प्रेषण गर्नुभएको दर्शन र उपदेशहरूको अर्थ बुझाइमा भिन्नता देखिएको कारण महापरिनिर्वाणको झन्डै एक सय वर्षपछि दोस्रो महाबौद्ध संगिती ई.पू. ३८३ तिर शिशुनागको शासनकालमा वैशालीमा आयोजना भएको थियो। यस सम्मेलनमै बौद्ध दर्शनमा विभाजनको रूपरेखा कोरिइसकेको थियो। 

 कलिंगको युद्धबाट हजारौं मान्छेहरूको मृत्युदेखि विच्छिप्त भएका सम्राट् अशोकले आफूलाई युद्धबाट बुद्धतिरको यात्रामा लाग्ने मार्गलाई अपनाए। सम्राट् अशोकको शासनकाललाई बुद्ध धर्मको स्वर्णिमकाल मानिन्छ। 

बौद्ध धर्मको तेस्रो संगिती सम्राट् अशोककै राज्यभिषेक भएको १८औं वर्षमा र बुद्ध भगवान्को महापरिनिर्वाण भएको दुई सय ३६औं वर्षमा मोगलीपुत्रतिस्यको अध्यक्षतामा पाटलीपुत्रको अशोकराम बिहारमा भएको थियो।

यस संगितीपश्चात् बौद्ध दर्शनमा स्थिरवाद र महायानको स्पष्ट रूपरेखा छुट्टिएको थियो।बौद्ध धर्मको विकास क्रममा चौथो संगिती महत्त्वपूर्ण छ। उक्त संगिती सम्राट् कनिष्कको राज्यकालमा ईश्वी १४० तिर काश्मीरमा वशुमित्रको अध्यक्षतामा र अश्वघोषको उपाध्यक्षतामा सम्पन्न भएको थियो। यसरी बुद्ध धर्म र दर्शनसँग सम्बन्धित विभिन्न गोष्ठीहरू विभिन्न समयमा विभिन्न ठाउँमा हुँदै आएको छ। 

ई.सं. १९९७ मा महामानव बुद्धको जन्मस्थल लुम्बिनीलाई अशोक स्तम्भमा अंकित लेखले लुम्बिनी भगवान् बुद्धको जन्मस्थान भएको कुरा पुष्टि गरेको आधारबाट लुम्बिनीको पावन भूमिलाई विश्वका महानतम धर्महरूमध्येको एक अति पवित्र र महत्त्वपूर्ण स्थलको रूपमा र ईशापूर्व तेस्रो शताब्दीदेखि सन् पन्ध्रौं शताब्दीसम्मका बौद्ध विहार र तथा स्तूप (स्मारक देवल) हरूका पुरातात्त्विक अवशेषहरूले आदिकालदेखि नै अस्तित्वमा रहेको बौद्ध तीर्थस्थलको विषयमा महत्त्वपूर्ण प्रमाणहरू उपलब्ध भएको दुई आधारमा विश्वसम्पदा सूचीमा सूचीकृत भएपछि यस क्षेत्रको महत्त्व र उचाइ विश्वसामु चुलिएको छ। ई.सं. १९९८, २००१ र २००४ मा लुम्बिनीमा भएको अन्तर्राष्ट्रय संगोष्ठीपछि यस क्षेत्रको संरक्षण र संवद्र्धनमा विश्व समुदाय लागिपरेको छ। 

यात्रा परम्परा

कुनै कालखण्डमा महत्त्वपूर्ण राज्यको रूपमा स्थापित कपिलवस्तु राज्य राजा प्रशेनजितका छोरा विरुढकको आक्रमणपछि इतिहासको पानामा विस्मृत हुन पुग्यो तथापि सम्राट् अशोकले स्थापना गरेको स्तम्भ (जसले भगवान् बुद्धको जन्मसम्बन्धी विवादलाई साम्य पारेको थियो) घना जंगलको बीचमा हराउन पुग्यो। यति हुँदाहुँदै पनि विभिन्न कालखण्डमा चिनियाँ यात्रीहरूको भ्रमण यस क्षेत्रमा भइ नै रहेको देखिन्छ। 

सर्वप्रथम यस क्षेत्रको भ्रमण चिनियाँ यात्री सेङ्-साईले ईश्वी ३५०-३७५ को बीचमा गरेका थिए। उनले आफ्नो यात्रा विवरणमा भगवान् बुद्ध जन्मिँदाको क्षण मायादेवीले समाइरहेकी वृक्ष (जस्लाई चिनियाँ भाषामा जुही भनिन्छ) को चर्चा गरेका छन्। यसै क्रममा चिनियाँ बौद्ध भिक्षु फाहियानले ४०९ ईस्वीमा यस क्षेत्रको यात्रा गरेको विषयमा प्रसिद्ध विद्वान वेल (द्यभब)ि ले चर्चा गरेका छन्। 

यसैगरी, ईस्वी ६३६ मा ह्वेन साङ आदि चिनियाँ बौद्ध भिक्षुहरूले आफ्ना यात्रा विवरणमा लुम्बिनीको विषयमा चर्चा गरेका छन्। सातौं शताब्दीमा यात्रा गर्ने चिनियाँ यात्री जुनाजेङ हुन्। उनले लुम्बिनीलाई चिनियाँ भाषामा लाफानी अर्थात् लवनी भनेका छन्। यसैगरी चिनियाँ यात्रीहरूमा उकु ङ (ध्गपगलन) र फाङ-चिन यस क्षेत्रको भ्रमण गरेका छन्। 

यस्तै सुई-चिङ-चु, मे-मोङ, ई-चिङ, हुएन-चु आदिले समेत यस क्षेत्रको भ्रमण गरेका पाइन्छ। यसपछि लामो समयसम्म लुम्बिनी घना जंगलको बीचमा विलुप्त हुन्छ तापनि बुद्ध धर्म र दर्शन भने थाइल्यान्ड, तिब्बत चीन, जापान, मंगोलिया, कम्बोडिया, पाकिस्तान, अफगानिस्तान, म्यानमार, कोरिया, भियतनाम र श्रीलंकालगायतका क्षेत्रहरूमा फैलन पुगेको देखिन्छ। 

सर्वप्रथम लुम्‍बीनी क्षेत्रको भ्रमण चिनियाँ यात्री सेङ साईले इश्‍वी सन ३५०-३७५ बीच गरेका थिए। उनले यात्रा विवरणमा बुद्ध जन्‍मिदाको क्षण मायादेवीले समाइरहेकी वृक्ष( जस्‍लाई चिनियाँ भाषामा जुही भनिन्‍छ)को चर्चा गरेका थिए। 

यसै बीचमा करिब ईश्वीको ११-१२ औं शताब्दीमा कर्णाली अञ्चलमा नयाँ राज्यको रूपमा खस राज्य देखा पर्दछ। नेपाली भाषा र संस्कृति तथा हिन्दु एवं बुद्ध धर्मको विकासमा खस जातिको महत्त्वपूर्ण भूमिका छ। आफूलाई बुद्ध धर्मको अनुयायी भन्न रुचाउने खस राजा रिपुमल्लले ईश्वी १३१२ मा यस क्षेत्रको भ्रमण गरेका थिए। उनले शक संवत् १२३४ मा सम्राट् अशोकको स्तम्भमा ú मणि पद्मे हँु श्री रिपु मल्ल चिरयम जयतु अभिलेख अंकित गराएका छन्। यसले पूर्व मल्लकालीन इतिहासको पृष्ठभूमिमा तत्कालीन समाजमा बुद्ध धर्मले राजकीय मान्यता प्राप्त गरेको पुष्टि हुन्छ। 

आधुनिककालमा लुम्बिनी 

भारतमा अंग्रेज शासनको सुरुवातसँगै पूर्वीय सभ्यता र संस्कृतिको इतिहासको अध्ययनको लागि इन्डो अंग्रेजहरूको महत्त्वपूर्ण भूमिका छ। सन् १७८४ मा भारतीय संस्कृति र सभ्यताको इतिहासको अध्ययनको लागि सर विलियम जोन्सको नेतृत्वमा एसियाटिक सोसाइटी अफ कलकत्ताको स्थापना भएको थियो। यस संस्थाले धेरै मात्रामा भारतीय साहित्यहरूजस्तो भाग्वत गीता, हितोपदेश, शाकुन्तला, बृहदजातक कथा आदि ग्रन्थहरूलाई अंगे्रजी भाषामा रूपान्तरण गरे। कर्कपेट्रिक, हेमिल्टन आदि विद्वानहरूले नेपाली इतिहास र संस्कृतिको अध्ययन गरेका थिए। 

सन् १८३४- १८३७ को बीचमा भने जेम्स प्रिन्सेपले व्राम्ही लिपि र खरोष्टि लिपिको लिप्यन्तर गरेपछि भारतीय संस्कृतिको अध्ययनमा नयाँ आयाम थपिएको देखिन्छ। यसै परम्परामा जर्ज बुलर, डा.ए.ए. फुहररलगायतका विद्वानहरू भारतीय संस्कृतिको अध्ययनमा अगाडि देखा पर्दछन्। यस बीचमाभारतीय तथा अंग्रेजी विद्वानहरूका बीचमा भगवान् बुद्धको जन्मस्थलसम्बन्धी व्यापक बहस भए तापनि ठोस निष्कर्ष निस्कन सकेको थिएन। 

बौद्ध साहित्यहरूमा वर्णित अनेकौं स्थानहरूलाई लिएर अनेकौं टीकाटिप्पणी गरिन्थ्यो। जनरल अलेक्जेन्डर कनिंघमले पनि उत्तर प्रदेशको मोक्सोम नगरलाई सम्भावित बुद्धको जन्मस्थलको रूपमा आँकलन गरेका थिए।बलरामपुरका मेजर जस्करण सिंह पहिलो व्यक्ति थिए जस्ले सन् १८९३ मा नेपालको तराई क्षेत्रमा अभिलेखसहितको अशोक स्तम्भ देखेको कुरा बताएका थिए। त्यसपछि डा. फुहररले सन् १८९५ मा निग्लिहवाको अभिलेख पढेका थिए जस्मा सम्राट् अशोकले कनकमणि बुद्धको स्तूपा ठूलो बनाएको उल्लेख छ। 

भुवनलाल प्रधानका अनुसार ईश्वी १८९६ तिर नै खड्गशमशेरले रुमनीदेवी जंगल अर्थात् लुम्बिनीमा उत्खननको कार्य सुरुवात गरेका थिए र करिब स्तम्भको आधार पेटीसम्म्म तीन फिटमात्र बाँकी थियो। डिसेम्बर १, १८९६ का दिन डा. फुहररले खड्गशमशेरलाई भेटे अनि फुहररले खड्गशमशेरको स्वीकृतिमा अभिलेखको फोटोग्राफी लिए। पछि उनले अभिलेखको लिप्यनतर यस प्रकारले गरे। 

देवान पियन पियदशिन लाजिन विसति, वसाभिसितेन अतन आगा च महियिते हिद वुधे जाते साक्य मुनिति सिला विगडभिचा कादापिते सिला थवे च उसपापिते हिद भगवम् जातेती लुमिनि गामे उवलीकटे अठभागिय च । 

अर्थात् देवताहरूका प्रिय प्रियदर्शी (अशोक) राजा राज्यकालको बीसौं वर्षमा आफैं आउनुभयो। यहाँ शाक्यमुनि बुद्धको जन्म भएकोले (बुद्ध जन्म) संकेतक शिलामा पूजा गरी शिलास्तम्भ स्थापना गर्नुभयो। यहाँ भगवान्को जन्म भएकोले लुम्बिनी गाउँको बलि (कर) घटाई आठौं भागमात्र कायम गर्नुभयो। 

सम्राट् अशोकले राख्न लगाएको यस अभिलेखले नै बुद्धको जन्मसम्बन्धी वादविवादलाई समाप्त गरिदिएको छ। यदि नेपाल-अंग्रेज युद्धपश्चात् अर्थात् सुगौली सन्धिअगाडि नै यस अभिलेख स्तम्भ पत्ता लागेको भए अंग्रेजहरूले कुनै पनि हालतमा लुम्बिनी क्षेत्र नेपाली भू-भागमा पर्न दिने थिएनन्। 

अंग्रेजहरूले ढुंगो भनेर मिल्काएको ठाउँ सौभाग्यवश नेपालको लागि हीरा बन्न पुग्यो। यो नेपाल र नेपालीको लागि सौभाग्य मान्नुपर्दछ। नेपाल सरकारले यस क्षेत्रको पुरातात्त्विक परम्परा सन् १८९६ मा महामानव बुद्धको जन्मस्थानलाई प्रमाणित गर्ने प्रस्तर स्तम्भ पुन: पत्ता लगाइसकेपछि अंग्रेज तथा भारतीय विद्वानहरूो दृष्टि नेपालतर्फ प्रवेश पायो। यसैक्रममा १२ मार्च १८९९ मा बाबु पूर्णचन्द्र मुखर्जीले नेपालमा आएर यस लुम्बिनी कपिलवस्तु क्षेत्रको अध्ययन तथा अन्वेषण गरे। 

सन् १८९९ मा मायादेवी मन्दिरको दक्षिण भागमा उत्खनन गरी सप्तरथ शैलीमा बनेको वास्तु अवशेषर मायादेवीले महामानव बुद्धलाई जन्म दिँदाको दृश्य अंकित प्रस्तर मूर्ति (प्रस्तुतिको अवस्थामा अशोकवृक्ष समाएको) पत्ता लगाएका थिए। अहिले पनि उनको यो प्राप्तिलाई महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइन्छ।

सन् १९३३-३९ को बीचमा केशरशमशेरले लुम्बिनीको अवैज्ञानिक उत्खनन गरेका थिए जस्को कारण धरै पुरातात्त्विक तहहरू र सम्पदाहरू नष्ट गरेको मानिन्छ। सन् १९६२ मा आर्कियोलोजिकल सर्भे अफ इन्डियाको तर्फबाट खटाइएकी देवलामित्रले अशोक स्तम्भको पश्चिमी भागमा उत्खनन गरी भारतको मौर्यकालीन मानिने अवशेष पत्ता लगाइन्। 

यद्यपि उनले तिलौराकोटमा पनि उत्खनन गरी अति राष्ट्रवादी दृष्टिकोणबाट नेपालको तिलौराकोट होइन कि. भारतको पिप्रहवा नै प्राचीन कपिलवस्तुको राजधानी हुन सक्ने सम्भावना व्यक्त गरिन् तर उनको यो भनाइको पुरातात्त्विक प्रमाणद्वारा खण्डन भइसकेको छ। १९७२-८५ को बीचमा पुरातत्त्व विभागद्वारा यस क्षेत्रको उत्खनन गरिएको थियो।

सन् १९९२-१९९६ बीच लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग र जापान बुद्धिष्ट फेडरेसनले संयुक्त रूपमा लुम्बिनीमा गरिएको उत्खननबाट भगवान् बुद्धको वास्तविक जन्मस्थानको रूपमा मानिएको मार्करस्टोन (जन्मस्मारक शिला) पत्ता लगायो। यस उपलब्धिले नेपालको गौरवको रूपमा रहेको लुम्बिनीको गरिमालाई अझ माथि पुर्‍याइदियो।

 See more at: http://annapurnapost.com/News.aspx/story/3248#sthash.A6dWVEhi.dpuf

No comments:

Post a Comment