नेवा: स इन्टरनेट रेडियो

Wednesday, August 27, 2014

आङकाजी शेर्पालाई जवाफ- ‘राष्ट्रिय झण्डा किन, नेपालकै नाम फेर्ने कि ?’

आङकाजी शेर्पालाई जवाफ- "राष्ट्रिय झण्डा किन, नेपालकै नाम फेर्ने कि ?"

समाचार टिप्पणी : डा. कविताराम श्रेष्ठ

Source : http://dainiknepal.com
Photo and text courtsey : Dr. Kavita Ram Shrestha


चर्को जातिय राजनीतिको वकालत गर्ने केही नेताहरुले चन्द्र सूर्यअंकित झण्डा नेपालको नभई हिन्दूवादीको मात्र भएको आरोप मिडियामा मलाई कलम कोर्न मन लाग्यो । मेरा मित्र, संघीय समाजवादी पार्टीका नेता आङकाजी शेर्पाजीले झन् नेपाली झण्डा भारतबाट ल्याइएको सूर्यवंशी–चन्द्रवंशी हिन्दूधर्मको झण्डा भएको आरोप लगाएको कुरा संचारमाध्यममा विवादका रुपमा आयो । टुँडिखेलमा मानव झण्डा बनाएर कीर्तिमान कायम गरेकोमा आलोचना गर्नु, मानव झण्डा बनाएर गिनिज बुकमा नाम लेखाउन पूर्वराजा ज्ञानेन्द्र शाह र अतिहिन्दूवादी देशीविदेशी शक्तिकेन्द्रहरुले ३५ लाख रुपैंया खर्च गरेको आरोप लगाउनु साह्रै दुःखद कुरा हो ।

त्यसले एक नेपालीको मन दुख्ने त कुरै भयो, झन म त राष्ट्रिय झण्डाको व्याख्यालाई धेरै नजिकबाट नियालिरहेको मान्छे ! राजनीति गर्नु एउटा पाटो हो, तर मरिसकेको राजतन्त्र या अन्य कुनै बाहना देखाएर देशको अस्मितामाथि नै प्रहार गर्नु स्वीकार्य हुन सक्दैन ।


सन् २००९ मा संबिधानमा झण्डा परिवर्तन बारे चर्चापरिचर्चा भइरहेको सन्दर्भमा राज श्रेष्ठले राष्ट्रिय झण्डा विश्वमै विशिष्ट (बाँदरहरु घर बनाउँदैनन्) भन्ने एउटा लेख लेख्नु भएको थियो । म त्यसबखत विदेशतिर थिएँ र त्यतैबाट मैले उहाँका थ्रेड्मा यसरी आफ्नो बिचार पोखें ।


"हाम्रो झण्डामा शान्ति र क्रान्तिका दुबै रंगीन प्रतिक विद्यमान छन । चन्द्र र सूर्य शास्वतताको प्रतिक विद्यमान छन । ऊर्जा र शितलताको श्रोतको प्रतिक विद्यमान छन । झन्डामा तीनकुने स्वरूप साँच्चिकै विश्वमा नै अद्वितीय स्वरूप हो । ती रंग, ती आकृतिहरु र स्वरुप कसैको पेवा कदाचित थिएन र कदाचित हुने छैन । यी सबै हामीलाई गर्व दिने निधि हुन । यसलाई निरन्तरता दिंदा कुनै लज्जा ब्यहोर्नु पर्ने छैन । कुनै साम्प्रदायीकताको अपगाल आइपर्ने छैन ।"


"किन यस्तो दिक्भ्रमित ? तिमीलाई गर्नु धेरै छ त्यता ध्यान देऊ । केही गर्न नै चाहन्छौ भने जनतालाई राहत दिने काम गर । झन्डाले तिमीहरुलाई रोकेको छैन । हामी जनतालाई समेत यसले केही बिगारेको छैन । हरेक कुरा फेर्न नै चाहन्छौ भने तिमीले मुलुकै फेर्न पर्ने हुन्छ । मुलुकको नाम नै फेर्नपर्ने हुन्छ । अनावश्यक कुरामा किन भूल्ने ? तिमीले देखेका सच्चाई मात्र सच्चा हो भन्ने भ्रममा नपर । तिमीले जे भन्छौ र जे चाहन्छौ जनताले चुपचाप त्यही मान्छ भन्ने कदाचित भ्रममा नपर ।"

त्यतिखेरसम्म जातीय पहिचान सम्बन्धका कुरा चर्को रूपमा सतहमा आएको थिएन र मैले आफूलाई लागेको कुरा त्यसरी निर्भिक भएर लेखें । अब त्यसरी नै खुलेर लेख्दा धेरै मेरा मित्रहरूलाई चित्त नबुझ्ला । तर भन्ने कुरा त त्यही नै थियो । अब ४ / ५ वर्ष यताको समयान्तरमा पनि भन्ने कुरा त्यही छ नै ।

शनिबार टुडिँखेलमा मानव सागरबाट झण्डा बनाएको सन्दर्भमा यस महानकार्यलाई राजनीतिक आँखाबाट हेर्ने काम हुन लागेको आभास मैले पाए र यसरी आफ्ना भनाइ फेसबूकमा राखेँ- "नेपालको झण्डालाई हिन्दुधर्माबलम्वी चन्द्र वा सूर्यवंशी राजाको ध्वज भन्ने अर्थ यदाकदा लगाइएका पाइएको छ । तर यो कुनै राजवंशको नभएर नेपाल मण्डलका प्रचीन र मध्यकालीन हिन्दु र बौद्ध मन्दिरहरूमा प्रयोग हुँदै आएको ध्वजा हो । स्वयम्भु र हिरण्यवर्ण महाबीरजस्ता अति प्रख्यात बौद्ध मन्दिरहरूमा यो अति कलात्मक ढंगमा स्थापित गरिएको छ ।" र यसको साथमा सम्बन्धित फोटोहरू पनि पेश गरेँ ।

संवाद भैरहेको छ उता र यता यो सानो टिपोट थप फोटोहरूसहित यहाँहरूसामू पेश गर्न मनलाग्यो ।
हिन्दू मन्दिरहरूमा त यो झन्डाको प्रचलन छ नै म साथीहरूमा यो हिन्दूहरूको मात्र प्रतीक चिन्ह थिएन भन्ने कुरा दुइवटा अति महत्वपूर्ण बौद्ध धार्मिक मन्दिर हिरण्यवर्ण महावीर । र, स्वयम्भु चैत्यमा भएको धातुबाट बनेक पुराना झन्डाहरूको अवलोकन गर्न अनुरोध गर्दछु। उनमा चन्द्र-सूर्य नभएको र अक्षर रहेको भने फरक द्रश्टव्य छ। स्वयमम्भु चैत्य २००० वर्षभन्दा पुराना बौद्ध धर्मस्थल हो र दोस्रो हो, पाटनको हिरण्यवर्ण महावीर बाह्रौं शताव्दीमा बनेको बिहार समेटाको मन्दिर हो । यसलाई गोल्डेन टेम्पल पनि भानिन्छ ।

उता, सम्बादमा जीवन मंगोलले "भारतका पृथ्वीराज चौहानका झण्डा" हुनुको बिचार पोख्नु भाको छ । तर भारतको कुनै भागमा १२ शताव्दीमा राजा रहेको उसको इतिहास र प्राप्त फोटोग्राफहरू हेर्दा यस्तो झण्डा देखिन्न ।


यता उनका समय भन्दा अगावै नेपालका बौद्ध मन्दिरमा यसको प्रतिष्ठा भएको म देखाउँदै छु। नेपालका हरेक हिन्दु बौद्ध मन्दिरहरूमा यस्तो झण्डा अनिवार्यतः प्रतिष्ठित देखिन्छ। यसरी भारतका कुरा त अलग रह्यो नै यो नेपालकै पनि कुनै पनि राजाहरूको झण्डा यस्तो थिएन र हिन्दु तथा बौद्ध दुवै धर्मको लागि एकनासले पवित्र मानिएको पुष्टि हुन्छ । यस सम्बन्धमा अरु धर्मको बारेमा मेरो अध्ययन कम रह्यो ।

मित्र जेकी चाप्चाले नेपालको झण्डा बारेमा खोजी गर्दै हुनुहुन्छ । उहाँले प्रस्तुत गर्नुभएको स्रोत अनुसार पर्सिभल लण्डनले झन्डामा भएको चन्द्र र सूर्यलाइ राणा र शाह वंशको प्रतीक मानिने गरेको खुलासा गरेको छ  (Perceval Landon in 1928; Nepal, vol 1, pp 233-236, Constable, London) ।

यो राणा र शाहले अर्थ्याएको हिजोअस्तिको कुरा भयो । हाम्रा अघि त यो हज्जार वर्षभन्दा पहिलेदेखिको चलनको प्रमाण भो। अतः यस् सन्दर्भमा परिचर्चा गर्नुको पनि कुनै तुक छैन नै । चाप्चाजिले नै नेपालका विभिन्न राजकीय झण्डाहरूका चन्द्र र सूर्यमा सुर्के चन्दन कोरेको कुरा औंलाउँदै झण्डालाई हिन्दुकारण गरिएको असन्तुष्टि पोख्नु भएको छ् । आफ्ना फेसबुक अकाउण्ट्मा भन्नु हुन्छ "हिन्दु राजतन्त्रलाई नै गुहेंघारीमा मिल्काई सकेपछि पनि, यो हिन्दुत्व नै प्रतिनिधित्व गर्ने बर्तमान चन्द्र/सुर्य नेपाली राष्ट्रिय झण्डालाई परिवर्तन गरिनु हुन्न भन्ने त्यो "बाहुने भिरिङ्गि खोपडी"हरुको अन्तर/मनशाय खाँटी अर्थ के हो भने, ईनेरुले अझै पनि त्यो चन्द्र र सुर्यको बीचभागमा, चन्दन धसेको बाहुनको टाउकाझ देखि रहनु नै हो" (https://www.facebook.com/jekichapcha?fref=ts)

हाम्रा अघि हज्जार वर्षभन्दा पहिलेको चलनको चित्र छ । यिनमा यस्तो सुर्के चन्दन भएको चन्द्र सूर्य छैनन नै। यस्मा हिन्दू अतिबादी खेल भएको पुष्टि हुन्छ नै। तर अहिले प्रचलनमा आइरहेको झन्डाहरूमा यस्तो ध्रीश्टता भई रहेको छैन। पछि हुन सक्ने कुरामा भने सतर्कता हुनु पर्छ। साथै, यस्तो चित्र नेपालका जंगी झन्डाहरूमा पनि कतै प्रयोग हुने गरेको छ भने हटाउने काम गरी हाल्नु पर्छ। धर्म निरपेक्ष नेपालले सूर्के चन्दनको चन्द्र सूर्यलाई झन्डामा कदाचित स्वीकर्दैन।


अन्त्यमा भन्नु छ, ‘३५००० राष्ट्रप्रेमीहरूले एकसाथ शनिबार टुडिँखेलमा यो झण्डा बनाएर त्यसको मुनि एकताको प्रतीक हुनुको उदाहरण पेश गरे । राजनीति गर्ने मेरा साथीहरूले त्यसलाई हृदयंगम गर्नोस । त्यहाँ न जाति गए न जनजाति गए, न आप्रबासी न आदिवासी, न महिला न पुरुष, न युवा न वृद्ध, न हिन्दु न गैह्रहिन्दु, न कुनै धर्मभीरु न धर्मनिरपेक्षबादी सबै राष्ट्रप्रेमी गए, प्रवासी नेपालीहरू समेत गए । राजनीतिकर्मीहरूले बिचार राख्न पर्छ यहाँ उनका बिरोधि पनि आए र समर्थक पनि । अब अरू कसैले यो झण्डा कुनै एक धर्म वा
समुदाय वा जातिकै थिए भन्छन भने पनि साझारूपमा नेपाली भनी स्वीकारेको देखियो ।

मान्नोस, आफ्नो पैसा तिरेर उनीहरू स्वतःस्फूर्त  सहभागी भाका थिए । राजनीतिक दलहरूले पैसा, खाजा, गाडी पठाएर पनि यति सहृदयताका साथ समर्थकहरू ल्याउन नसकेको देख्ने दर्शक हामी जनता छौं। यो साझा मूल्यमा बखेडा न उठे हुन्थ्यो । यो राष्ट्रप्रेमी सबैको साझा भै सकेको छ । यो नेपाली मनमा चोट नपुगोस । गर्न अरू धेरै छ। यस्मा नअल्मलिऔ ।


No comments:

Post a Comment