नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Wednesday, October 31, 2012

क्रान्तिविना थनः द्वैमखु शान्ति अर्थात् क्रान्तिविना यहाँ हुँदैन शान्ति।

कुमारप्रसाद कोइराला 

यो वर्ष युगकवि सिद्धिचरण श्रेष्ठको जन्म शताब्दी। उनका कृतित्व सबै नेपालीका लागि प्रेरणा। राणाकालमा उनले राणाविरोधी एउटा चर्को कविता लेखेका थिए, क्रान्तिविना थनः द्वैमखु शान्ति। अर्थात् क्रान्तिविना यहाँ हुँदैन शान्ति। 

सिद्धिचरण (वि.सं. १९६९-२०४९) नेपाली काव्य जगत्का यस्ता नक्षत्र हुन् जसले स्तुति, भजन, भक्ति, शृंगारिकता, नैतिक उपदेश आदिलाई मूल प्रवृत्ति बनाएर गतिशील भइरहेको नेपाली काव्यलाई नयाँ मोड दिए। संस्कृत साहित्यको शास्त्रीय परम्पराको अनुशरणमा अल्भि्कएको, निरंकुश राणातन्त्रको त्रासले बोलीविहीन भएको नेपाली काव्यलाई नयाँ वाणी दिए। यथार्थ जीवनभन्दा टाढा रहेको नेपाली साहित्यलाई समसामयिक र जीवन सापेक्ष बनाए। कविहरूले विद्वता र प्रतिभा प्रदर्शन गर्न खोज्दा क्लिष्ट र दुरूह हुन लागेको नेपाली काव्य शिल्पलाई नवचेतना, सरलता र सम्प्रेषणीयताले सम्पन्न तुल्याए।


सिद्धिचरण नेपाली साहित्यमा प्रवेश गर्ने समयमा पश्चिमी मुलुकमा औद्योगिक जागरण र नवचेतनाको प्रकाश फैलिसकेको थियो। एसियाली मुलुकहरू साम्राज्यवाद, अधिनायकवाद र सामन्तवादको चक्रव्यूहबाट धमाधम मुक्त हुँदै थिए। लोकतान्त्रिक जनमुखी शासन व्यवस्थाप्रति जनआस्था बढिरहेको थियो। स्वतन्त्रताको हावामा उन्मुक्त भएर जीवन यापन गर्न पाउँदाको अनुभूतिले लोक मानस प्रफुल्लित भइरहेको थियो तर नेपालमा भने क्रूर जहानिया राणातन्त्रको जगजगी थियो। वाक् स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता थिएन। 


जनचेतना पनि शून्यप्रायःथियो। तत्कालीन सामन्ती व्यवस्थाको तरबारको टुप्पामा झुन्डिएको नेपाली साहित्यकारको कमलले जीवन निरपेक्ष, प्रायः निष्प्राण शब्दहरू कोर्थ्यो तर त्यसबाट तत्कालीन जीवन यथार्थ देखिँदैनथ्यो। नेपालीका दुःख सुख, करुणा वेदना, हर्ष उत्साह व्यञ्जित हुँदैनथे। त्यसमा राष्ट्र भक्तिभन्दा राजभक्ति बढी हुन्थ्यो। आफ्नो युगको त्यस्तो अवस्थाबाट संवेदनशील, कवित्व शक्तिले सम्पन्न युवाकवि सिद्धिचरण पूर्ण परिचित थिए। सामन्ती व्यवस्था र त्यसका शासकहरूबाट हुने, शोषण, अन्याय, अत्याचार र दमन देखेर उनका हृदयमा विद्रोही र क्रान्तिकारी भाव जुर्मुराउन थाले। उनमा आधुनिक चेतनाले बिस्तारै प्रवेश गर्न थालेको तर अझै ब्युँझी नसकेको तत्कालीन नेपाली समाजको अवस्था देखेर त्यसलाई परिवर्तन गर्ने उत्कट चाहना जाग्न थाल्यो। यस्तै राष्ट्रवादी मनोभावनाले प्रेरित भएर उनले नवीन भावधाराका कविता रच्न थाले : 


खोलनलाई जगको चाला, बोल्छु म जो उरको भाषा
रोक्छ भन्दैमा वैभवको पध के म नलेखँू अब कविता?
आमा, मेरो मेरै बाटो, होइन म नियतिको बन्दी
भन्नु हुन्न रे भन्छ घमण्डी, म कवि जगत्को प्रतिद्वन्द्वी।


शासकहरूले उनलाई १९९७ सालमा राणाविरोधी कविता लेख्यो भनेर जेल हालेका हुन्। उनका कवितामा विद्रोहको अदम्य स्वर घन्किएको देखिन्छ। उनका कवितामा सामन्ती राणा शासनविरोधी सामान्य नेपाली जो बोल्न सक्दैनन् र बोले पनि त्यसमा खास आशय र आग्रह हुँदैन त्यस्ता जनको मुटुको ढुकढुकी स्पन्दित भएको छ। उनका कवितामा युग व्यञ्जित भएको छ। युग बुझेर, जन चाहना बुझेर, परिवर्तनको आवश्यकता बुझेर, स्वतन्त्रताको मूल्य थाहा पाएर, परतन्त्रताको पीडाले छटपटाएर कविता रचेकाले नै उनलाई युगकवि भनिएको हो।


उनी जति सौन्दर्य उपासक थिए, त्यति नै बढी समाज र राष्ट्रप्रति उत्तरदायी र प्रतिबद्ध पनि थिए भन्ने कुरा उनका काव्यले स्पष्ट पारेका छन्। उनको काव्यमा मानव जीवनको मात्र होइन समग्र शासित नेपाली र राष्ट्रकै युगीन बिम्ब पनि प्रतिबिम्बित भएको पाइन्छ। उनका कवितामा सामन्ती संस्कार र संस्कृतिको विरोध र मानवतावादी चेतनाको उद्घोष पाइन्छ। उनी मूलतः २००७ सालपूर्वको नेपाली कविता साहित्यका अग्रणी कवि हुन्। उनका कविताले जनशक्ति अजेय छ भन्ने कुरा व्यञ्जित गरेका छन्। उनी युवा हृदयका स्पन्दन हुन्। युवाहरूले नै परिवर्तन गर्न सक्छन् भन्ने दृढ विश्वास उनका काव्यमा व्यक्त भएको छ। उनका कवितामा प्रकृतिको चित्रण जीवननिरपेक्ष भएको छैन, प्रकृति जीवन चित्रणकै उपादान बनेर आएको छ। उनी करुणाका, संवेदनाका, व्यंग्यका सशक्त कवि पनि हुन्। समग्रमा भन्दा उनी मानवतावादी कवि हुन्।


उनी विशिष्ट युगका विशिष्ट स्रष्टा हुन्। उनका कविताले सामन्ती शासन व्यवस्था र आर्थिक ढाँचामा परिवर्तन नल्याई, लोकतान्त्रिक समाजवादी शासन व्यवस्था स्थापना नगरी नयाँ नेपालको निर्माण हुन सक्दैन भन्ने कुरा त्यति बेलै स्पष्ट पारिसकेका थिए। उनी लिच्छविहरूको, मल्लहरूको र शाहहरूको पालो आएजस्तै जनताको पालो पनि अवश्य आउँछ भन्नेमा विश्वस्त थिए। त्यसैले उनलाई क्रान्तिदर्शी कविका रूपमा पनि चिन्न सकिन्छ। उनका कवितामा न धेरै बौद्धिक कसरत छ, न शास्त्रीयताको कट्टरता छ, न स्वच्छन्दतावादी अपरिमित कल्पना र भावुकताको उच्छाल छ। उनका कविता, बोधगम्य छन्, सरल, सम्प्रेष्य र मर्मस्पर्शी छन्।


आज हामी यस्ता युगकविको जन्म शताब्दी मनाइरहेका छौँ। आजको अन्योलपूर्ण अवस्थाबाट अघि बढ्न उनी प्रेरक हुन सक्छन्। सहिद गंगालाल र प्रजातान्त्रिक लडाइँका लौहपुरुष गणेशमान सिंहहरूजस्ता नेपाली आमाका महान् सपूतका प्रेरक सिद्धिचरण आजका दिग्भ्रमित सपूतहरूका पनि मार्गदर्शक बन्न सक्छन्। उनको साहित्यकर्म यस युगका लागि पनि उत्तिकै सामयिक र सान्दर्भिक छ।

Source : http://www.nagariknews.com/saturday/47667-2012-10-13-03-56-52.html

No comments:

Post a Comment