नेवा: स इन्टरनेट रेडियो

The Status of the radio is


Note: Please Click the play button to listen if the status is Live
Refresh the page if live and player is not responding.

Wednesday, October 31, 2012

मेरै सामुन्ने जन्मनेछिन् मेरी आमा

तीर्थबहादुर श्रेष्ठ

पक्षको हेरफेरमा यो वर्ष पुरुषोत्तम महिनाले हाम्रो पात्रोमा प्रवेश गरेको हुँदा भदौ महिनामा जन्मेकी मेरी आमा दुर्गालक्ष्मीको सयौं शुभजन्मोत्सव असोज १४ गते परेको छ। जन्मोत्सव मनाउने तरखरबीच मेरो स्मृतिपटललाई अतीतले कोट्याउँदै छ। 

आमा ७७ वर्ष ७ महिना ७ दिनको हुँदा उहाँको पहिलो बुढापास्नी भीमरथारोहण (ज्याः जंक्व) २०४७ सालमा, दोस्रो हजार चन्द्रदर्शनको दिन २०५१ सालमा र तेस्रो देवरथारोहण (महारथारोहण) ८८ वर्ष ८ महिना ८ दिन पुगेका अवसरमा २०५९ सालमा मनाएका थियौं। त्यतिन्जेल आमा बलियी हुनुहुन्थ्यो। 


९५ वर्षको उमेरसम्म हिँडडुल गर्नसक्ने आमा एक दिन बगैँचामा घाम ताप्ने क्रममा बस्न खोज्दा थचक्क थचारिएर घोप्टिनुभयो। त्यस दिनपछि हिँड्न मान्नुभएन। खुट्टै नटेकिदिने। चोटपटक पनि लागेको होइन। अब म हिँडडुल गर्न सक्दिन भन्ने मनको चोटले थलिनुभयो। घरबाहिरको संसार र आफ्नै आँगनबगैँचा पनि त्याग्नुभयो तर आफ्नो दैनिक पूजापाठ छाड्नुभएको थिएन। हरेक बिहान तुलसीकृत रामायण एकआध घण्टा वाचन गर्नुहुन्थ्यो। ९७ वर्षको उमेर कटेपछि पुस्तक पढ्न छाडेर भजनमात्र गाउन थाल्नुभयो। 

पाको उमेर र बृद्ध शरीर भएपछि स्मरणशक्ति जीवित राख्नु नै जीवन हो। हुन त स्मरणशक्ति व्यक्तिपिच्छे फरक हुन्छ तर स्मरणशक्ति बाल्याबस्थादेखि नै तिखार्ने अभ्यास आवश्यक पर्छ। आमाको व्यवहार देखेर बाल्याबस्थामा घोकेका छन्दहरू बृद्धाबस्थाका संगिनी बनेर रिस, राग, मोह र विरक्ति मनमस्तिष्कबाट विस्थापित गर्छन् भन्ने विश्वास लाग्न थालेको छ। स्मरणशक्तिमा आध्यात्मिक पायन बसेको छ र त्यसलाई काव्यले सुत्रबद्ध गरेको छ भने बृद्धाबस्था शीतल र शान्त हुन्छ भन्ने प्रमाण भेट्दै छु। आजभोलिका बालबालिकालाई छन्दमा लय हालेर स्तुतिगान, राष्ट्रगान, नैतिकज्ञान र आध्यात्मिक ज्ञान आदिमा अभ्यस्त गराउनु तिनका भविष्यका लागि उपयोगी हुन्छ भन्ने सल्लाह पनि दिन थालेको छु। 


आजभोलि आमा र म सरस्वती वन्दनाबाट हाम्रो बिहान सुरु गर्छौं। मेरो आँखामा आँखा जुधाएर गुरुलाई शिष्यले पाठ बुझाएझैं सरस्वती वन्दना प्रारम्भ गर्छिन्। ठाउँठाउँमा रोकिन्छ, मैले सम्झाइदिनुपर्छ। 'जिह्वाग्रे वसती तस्य ब्रह्मरूपा सरस्वती' भनेपछि हामी दुवै दंग पर्छौं। मलाई झलझली सम्झना हुन्छ, ६/७ वर्षको उमेरमा म त्यही पाठ आमालाई सुनाउँथे। बिर्सिएको ठाउँमा आमा थप्नुहुन्थ्यो, म गाउँदै जान्थेँ। त्यही वन्दनाले बाँधिएको मायाको बन्धन दिनप्रतिदिन झनझन बाटिँदै बटारिँदै बलियो हुँदै छ। 

सानेपाचोकको पसलमा बच्चालाई खुवाउने लिटो र शिशु आहारा 'सेरेलेक्स' बराबर किन्न जान्छु। साहुजी सोध्छन्, 'नाति पाउनुभयो कि क्या हो?' म भन्छु, 'मेरो घरमा नातिभन्दा सानी शिशु छिन्, मेरी आमा।' 
गत वर्षसम्म म उनलाई ३ नम्बरको सेरेलेक्स खुवाउँथे, अहिले १ नम्बरको बट्टामा आइपुगेको छु। मेरी श्रीमतीले आमालाई कर गरिगरी त्यो लिटो खुवाउँदा हामी आफ्नी सानी छोरीलाई लिटो ख्वाएको दृश्य सम्झन्छौं। कहिले खानुभएन भनेर हकार्छौं, कहिले फकाउँछौं, कहिले जिस्क्याउँछौं। हाम्रो त्यो दिनचर्यामा कहिले म आफैं अलमलमा पर्छु, म आमाको बच्चा हो कि आमा मेरो।

को बालक, को बृद्ध, को बच्चा, को माउ- यी सबै समय र परिस्थितिले निर्माण गर्ने अवस्था हुन्। गत वर्ष मंसिरमा मेरो घरमा तीनजना खिरपाहुना आएका थिए। साहित्यकार कमलमणि दीक्षित, चिन्तक श्यामप्रसाद शर्मा र पत्रकार भैरव रिसाल। हामी चारजना तीन/तीन महिनामा पालैपालो एकअर्काको घरमा खिरपार्टी गर्छौं। घरपरिवारका दुखसुख प्रत्यक्ष हुन्छ। मुक्त गफ चल्छन्। मेरो घरमा त्यो पहिलो पार्टी थियो। बिदाइको बेला हामी चारैजना आमाकहाँ गयौं। आमालाई चकटीमा बसाएर दूधबिस्कुट दिँदै थियौं। आमालाई भेट्न आएको, आशीर्वाद लिन आएको भन्दै ठूलो स्वरमा आवाज दियौं। 'तिमीहरू चिरञ्जिवी होओस्, गरेको काम सिद्ध होओस्' भन्दै हत्केला उठाएर आशीर्वाद दिनुभयो। हामी भजन सुन्न आएको भनी मैले कुरा बढाएँ। 
पहिलो भजन सुनाउनुभयो, 'आदौ राम तपोवनादी गमनम्...।' त्यसपछि एउटा हिन्दी गीत- 

'रामजी कि मैना, तु रामनाम कहना
यहाँ नहीं तो वहाँ रहना हो...
छोटा सा मैना बढा सा पिँजडा
निकल गई मैना कुछ लेना न देना'
हाम्रो प्राणलाई राम (ईश्वर) को मैना र हाम्रो शरीरलाई त्यसको पिजडाका रूपमा व्याख्या गर्ने यो र यस्ता हिन्दी गीतहरू आमालाई केही याद छ र बेलाबेला गाउनुहुन्छ पनि। मैनाको गीतपछि पशुपतितिर लागिन् र भनिन्-

'पशुपतिको चारै ढोका गुह्येश्वरीको दैलो
स्नान गर्नु बागमतीमा जान्छ मनको मैलो'

बागमती स्नानको त्यो पवित्र आस्था अब यस्तै बृद्धबृद्धाका स्मृतिपटलमा मात्र बाँचेको सम्झेर हामी खिन्न भयौं। उमेरले ८० वर्ष नाघेका तीन बालक र ७० नाघेको म छोरा- हामी चारैजना आमाका छेउमा साँच्चै बालकझैं अनुभव गर्दै थियौं। हामीमा बालापन फर्क्यो क्यारे! आमा हुनुहुन्छ र पो म बालक नै हुँ यो उमेरमा पनि। मलाई सात दशकभन्दा बढी मातृस्नेह दिइरहेकी मेरी आमा स्वयम्ले भने सात वर्ष पनि मातृस्नेह भोग्न पाउनुभएको रहेनछ। उहाँ भन्नुहुन्थ्यो, 'मलाई आमाको सम्झना नै छैन।'

आमाको मायाबाट कोही वञ्चित नहोउन् भन्ने मनोचिन्ताले उहाँलाई सधैं सताउने गरेको हामी अनुभूत गर्छौं। घरमा कुकुरका छाउरा पाल्न ल्यायौं भने 'दूध छुटाएर ल्याएकालाई माया गर्नुपर्छ, सास्ती दिनुहुन्न' भन्ने उहाँको थेगो नै हुन्थ्यो। हुन पनि हामीले घरमा कुकुर, कुखुरा, बट्टाइ, तितुचरा, च्याखुरा, श्यामा, पट्टु आदि पाल्यौं। सबैलाई आमाले नै आहारा दिनुहुन्थ्यो। समय र परिस्थितिले आजभोलि उहाँलाई आमा कम, बच्चा बेसी बनाउँदै लगेको छ। कोठामा जो पसे पनि चकलेट माग्न उहाँ बिर्सनुहुन्न। क्याडबरी मिल्क चकलेटका टुक्रा अगाडि लगेपछि भँगेराको बच्चाले आमाको अगाडि मुख बाएजस्तै मुख बाइदिनुहुन्छ। ससाना नातिपनातिहरू उहाँलाई चकलेट ख्वाएर रमाइलो गर्छन्। भोजभतेर भएको बेला चकलेट रोक्न पालै बस्नुपर्छ। नत्र जति पनि खाइदिनुहुन्छ। तिनै आमाले मलाई सानो छँदा पुरस्कार दिने जिनिस भनेको पुष्टकारी नै थियो। चकलेटको नाममा पिपलामेट हुन्थ्यो। केराउका गेडाजस्ता रंगिबिरंगी गोली। ती ससाना पिपलामेट (पिपरमिन्ट) को ऋण क्याडबरी मिल्क चकलेटले तिरिने त होइन, तर नियति यस्तै छ।

सयौं शुभजन्मोत्सवका बेला ९९ वर्ष कटिसक्दा आमाले ३६ हजार १ सय ३५ दिन भोगिसक्नुभएको हुनेछ। समयको त्यस अन्तरालले आमाको आकृति हाडछाला र नसाका 'तरल तरंग'मा खुम्चाइदिएको छ। रातको निद्रामा मस्त त्यस शरीरलाई नियालेर हेर्दा छातीका करङ खँलातीजस्तै फुक्छन्, सुक्छन्। नितम्वका चौडा हाडहरूको माझ पेट स्याप्पै बसेको देख्छु। त्यही पेटभित्र बसेर तिनै फोक्सोको साथमा चलखेल गर्दै जीवन प्रारम्भ गरेको वास्तविकताले भावुक बनाउँछ। मेरा बहिनीहरू जन्मेको बेला आमाले घाम ताप्न बस्दाको दृश्य सम्झन्छु। हृष्टपुष्ट शरीर, पिँडौलामा अजी (हजुरआमा) ले तोरीतेल घसेको। अगाडि 'मचाकठी' भित्र सानो डसनामा बहिनी रोएको अझै सम्झन्छु। म पनि त्यसैगरी मचाकठीभित्र रोएँ हुँला, आमाको अगाडि। त्यतिबेला बच्चाहरूका लागि झुल थिएन। निगालो वा नर्कटका २/३ हात लामो तीनटा छडीलाई त्रिखुट्टी अड्याएर त्यसमाथि हल्का कपडाले घाम छेक्ने र झिँगा रोक्ने काम हुन्थ्यो। कौसी नहुने घरका सुत्केरी आमाहरू महाबौद्ध बहालमा तेल घस्न बस्थे। प्रायः अर्धनग्न। नेवारी समाजको त्यो आमदृश्य आजभोलि कहीं देखिँदैन। पुराना तस्बिर र चित्रमा नै सीमित भइसक्यो। स्वर्गीय कलाकार रामानन्द जोशीको एक तैलचित्रमा सुत्केरी आमाको मसाज चित्रण ज्यादै उत्कृष्ट लागेको थियो, ललितपुरको पार्क आर्ट ग्यालरीमा। आजभोलि महाबौद्धको सबै थोक परिवर्तन भइसक्यो। बुद्धचैत्यको तीन नेत्रहरू टुलुटुलु त्यो परिवर्तन हेरिरहेका छन्। हाम्रो नेवारबस्ती चिनियाँ बजार बनिसक्यो।

आमाको सयौं जन्मोत्सवमा विशेष परम्परागत तडकभडक गर्दैनौं हामी। केकमा बत्ती बालेर निभाउने हाम्रो चलन होइन। हामी बत्ती बालेर सुकुन्दा दियोमा गणेशपूजा गरेर सगुनप्रसादका साथ जन्मदिन मनाउँछौं। यो सयौं जन्मदिनपछि भने चौथो ज्याः जंक्वको तयारी गर्नुपर्ने हुन्छ। त्यसलाई दिव्य रथारोहण भनिन्छ। आमाले ९९ वर्ष ९ महिना ९ दिन टेकेको दिन हुनेछ त्यो। त्यस दिन आमालाई एक विशेष प्रकारको घ्याम्पोबाट बाहिर निकाल्नुपर्छ। त्यसबेला फेरि बच्चा भएर जन्मेको भावले घ्याम्पो फुटालेर निकाल्ने चलन छ। मेरी आमा त्यो दिन मेरै सामु जन्मनेछिन्। म कति भाग्यशाली!

Source : http://www.nagariknews.com/saturday/46644-2012-09-22-03-12-45.html

No comments:

Post a Comment