नेवा: स इन्टरनेट रेडियो

Sunday, July 21, 2013

संग्रहालयमा चित्तधर

संग्रहालयमा चित्तधर

सुरेश किरण 
 
काठमाडौ, श्रावण ४ -
 
कवि चित्तधर हृदयको घर आजदेखि उनको नामको संग्रहालयमा परिणत हुँदै छ । नेपाल भाषामा मात्रै साहित्य लेखेका उनीसम्बन्धी सामग्री र साहित्य यहाँ पाइनेछ ।
 
 राजा महेन्द्रले कवि मविवि शाहको हैसियतमा लेखेको 'उसैको लागि' काव्य प्रकाशन गर्नुपूर्व चित्तधर 'हृदय' लाई पनि दरबारमा डाकेर प्रतिक्रिया लिएका थिए । मविवि शाहले दरबारमा अक्सर जमाउने साहित्यिक 'मेहफिल'हरूमा बोलाइने नेपाली साहित्यकारहरूमध्ये चित्तधर 'हृदय' मात्रै त्यस्तो एक्लो साहित्यकार थिए जो खस नेपालीमा लेख्थेनन् । उनी विशुद्ध मातृभाषा नेपालभाषामा मात्रै सिर्जना गर्ने अनुरागी साहित्यकार हुन् । खस नेपालीमा नलेख्ने साहित्यकार भए पनि उनको साहित्यिक शक्तिलाई भने राजा महेन्द्रले पनि नकार्न सकेका थिएनन् । उनै राजा महेन्द्र थिए जसले २०१३ सालमा हृदयलाई 'कविकेशरी' उपाधिले विभूषित गरे ।

तर देशमा गणतन्त्र आएपछि चाहिँ एउटा अनौठो संयोग जुर्‍यो । काठमाडौं कालिमाटीको मुख्य चोकमा राजा महेन्द्रको सालिक थियो । माओवादीले शाह राजाहरूको सालिक ढाल्ने अभियान चलाउँदा कालिमाटीको त्यो सालिक पनि ढाले । त्यही बेला कविकेशरी चित्तधर हृदयको शतवाषिर्की मनाउने शृंखलाबद्ध कार्यक्रम चल्दै थियो । कार्यक्रमको शृंखलामा कविज्यूको एउटा पूर्णकदको प्रतिमा स्थापना गर्ने योजना पनि थियो । कालिमाटीका स्थानीय जनताको पहलमा कवि चित्तधर हृदयको पूर्ण कदको प्रतिमा ठीक त्यही ठाउँ स्थापना गरियो जहाँ राजा महेन्द्रको सालिक ढालिएको थियो । राजा महेन्द्र र कवि हृदयको सम्बन्ध उनका सहयोगी एवं नेपालभाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्यलाई राम्ररी थाहा थियो । त्यसैले महेन्द्रको सालिक ढालेर चित्तधरको सालिक स्थापना गर्ने प्रस्ताव आउँदा उनलाई भित्र कतै अप्ठेरोझैं परेको थियो । तर सालिक स्थापना भयो । मूलसडकको बीचमा राजा वा राजनेताबाहेक कुनै पनि साहित्यकारको पूर्ण कदको सालिक स्थापना भएको नेपालमा यही पहिलो हो ।

उनै कविकेशरी चित्तधर 'हृदय'को जन्मघरलाई आज एक समारोहबीच संग्रहालयमा रूपान्तर गरिँदै छ । नेपालका कुनै पनि साहित्यकारको घर संग्रहालयमा परिणत भएको पनि यही पहिलो हो ।

काठमाडौं सहरको भित्री भागतिर रहेको न्यत तुंछेँगल्ली सडकको किनारमै रहेको उक्त नेवाः वास्तुशैलीको घरमा विसं १९६३ को जेठतिर ल्हासा साहु द्रव्यधर तुलाधर र ज्ञानलक्ष्मी तुलाधरका माहिला छोराका रूपमा चित्तधर तुलाधरको जन्म भएको हो । साहुका छोरा भएको नाताले साहुकै छोरीसँग उनको विवाह भयो । विख्यात उद्योगपति भाजुरत्न कंसाकार -उद्योगपति पद्मज्योति र रूपज्योतिका हजुरबुबा) का उनी ज्वाइँ हुन् । तर सन्तान नभएका कारण चित्तधर आफैं भने न कसैको पिता बने, न ससुरा । श्रीमती पनि चाँडै बितेकाले चित्तधरसँग मन माझ्ने साथी साहित्यबाहेक अरू कोही बाँकी रहेन । त्यसमाथि उनी पक्षाघातका बिरामी पनि भए । यतिबेला उनलाई अविवाहित बहिनी मोतीलक्ष्मी उपासिकाले हदैसम्मको सेवा गरिन् । मोतीलक्ष्मी आफैं पनि ठूलो साहित्यकार थिइन् । उनी आधुनिक कथा र निबन्ध लेख्ने नेपालकै पहिलो महिला लेखक हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्ना सबै कृति जलाए पनि 'मुनामदन' सुरक्षित राख्नू भनेझैं चित्तधर 'हृदय'ले पनि आफ्ना सम्पूर्ण कृति नाश भए पनि 'सुगत सौरभ' महाकाव्य र 'मिं मनःगु पौ -आगोले नखाएको पत्र)' चाहिँ सुरक्षित गर्नू भनेका रहेछन् । उनले 'सुगत सौरभ'लाई छोरा र 'मिं मनःगु पौ' लाई छोरी जो मानेका थिए ।

कवि चित्तधर 'हृदय' र बहिनी मोतीलक्ष्मी उपासिका दुवैले आफ्नो शेषपछि आफूहरू जन्मेको उक्त घर नेपालभाषा परिषद्लाई दान दिने निधो गरे । नेपालभाषा परिषद् नेपालमै स्थापना भएको पहिलो साहित्यिक संस्था हो । अत्यन्त जीर्ण अवस्थामा पुगिसकेको उक्त घरलाई पाँच वर्षअघि मात्रै भारतीय राजदूतावासको सांस्कृतिक सहयोग कार्यक्रमको अनुदानमा पुरानै ढाँचा कायम रहने गरी जीर्णोद्धार गरिएको थियो । अहिले सोही घरलाई साहित्यिक संग्रहालयमा परिणत गरिएको हो जसको नाम रहेको छ - चित्तधर हृदय स्मृति संग्रहालय ।

संग्रहालयमा अवलोकन गर्नलायक पहिलो कुरा त संग्रहालय रहेको भवन स्वयम् नै भयो । बाहिरबाट हेर्दा सामान्यझैँ लाग्ने उक्त घरभित्र भने तत्कालीन नेवाः, त्यसमा पनि रैथाने तुलाधर जातिको मौलिक वास्तुले भरिएको छ । तलैपिच्छे फरकखाले कोठा र कोठाभित्र फेरि अर्को कोठा यो घरको मौलिकता हो । घरमा चित्तधरले प्रयोग गर्ने ओछ्यान, डसना, कलम, चस्मा, सानो टेबुल, दराज, ऐना, रेडियो, खाना पकाउने भाँडाकुँडा, लगाउने कपडा आदि जस्ता सामग्रीहरू प्रदर्शनमा राखिएका छन् । उनले लेखेका र उनीबारे लेखिएका पुस्तक तथा पाण्डुलिपिहरू पनि त्यहाँ संग्रहित छन् । संग्रह गर्न चित्तधर आफैं पनि कहाँ कम थिए र उनले विभिन्न संस्था र व्यक्तिहरूले आफूलाई पठाएका चिट्ठी र त्यसको खामसमेत सुरक्षित राखेका रहेछन् । यहाँसम्म कि आफ्नै पास्नी र अन्नप्राशनका बेला लगाएका साना साना भोटो र टोपीसमेत उनले जम्मा गरेका रहेछन् । त्यो पनि यो संग्रहालयमा देख्न पाइन्छ ।

यो संग्रहालयको योजना बनाउने वरिष्ठ संग्रहालयविद् जलकृष्ण श्रेष्ठका अनुसार चित्तधर संग्रहालयले केवल चित्तधरकै बारेमा मात्र बताउँदैन, उनी बाँचेको तत्कालीन नेपालको चित्र पनि यसले खिच्ने कोसिस गरेको छ । हो पनि । कवि चित्तधरलाई पठाइएका केही यस्ता बिहेका कार्डहरू पनि त्यहाँ सुरक्षित छन् जुन बुट्टेदार कागजमा हातैले लेखिएका हुन् । तत्कालीन काठमाडौंमा छापाखानाको हालत के थियो, त्यो उक्त कार्डमा 'छापिएको' हामी पाउँछौं ।

संग्रहालयमा रहेका केही तस्बिरहरूमा कवि चित्तधरलाई चिनियाँ नेता माओत्सेतुंग, नेपाली नेता टंकप्रसाद आचार्य, गणेशमान सिंह आदिसँग बसेको पनि देख्न पाइन्छ । तर स्वयम् चित्तधर भने राजनीतिसँग कुनै सरोकार राख्दैनन् । १९९७ सालको काण्ड हुँदा उनलाई तत्कालीन राणा सरकारले 'नेवारी भाषामा लेखेको' भन्ने आरोप लगाएर जेल हालेका थिए । तर जेल बस्दा पनि उनले कुनै क्रान्तिको कविता लेखेनन् । बरु लेखे बुद्ध जीवनीमा आधारित महाकाव्य 'सुगत सौरभ' । कहिले कागजको टुक्रा त कहिले पुरानो कमिजको पातामा लुकी लुकी लेखिएको उक्त कृति उनी जेलमुक्त भएपछि प्रकाशित गरिएको थियो । जेलमा चित्तधरकै संगतमा लागेर धर्मरत्न यमि, केदारमान व्यथित र गणेशमान सिंहले समेत कविता कोर्न सिकेका थिए ।

नेपालमा यतिखेर विभिन्न विषयमा डकुमेन्ट्री बनाउने चलन खुब चलेको पाइन्छ । तर कविकेशरी चित्तधर हृदयको बारे उनी जीवित छँदा नै एउटा डकुमेन्ट्री बनाउने काम सुरु भइसकेको थियो । उनको जीवनकालमा घटित विभिन्न घटनादेखि लिएर २०३९ सालमा उनको निधनसम्म समेटेर तयार पारिएको उक्त डकुमेन्ट्रीका निर्माता एवं वरिष्ठ छायाकार नवीन चित्रकार भन्छन्, 'नेपालका कुनै पनि साहित्यकारको जीवनीमाथि डकुमेन्ट्री बनेको पनि यही पहिलो हो ।' डकुमेन्ट्रीका सम्पूर्ण सामग्रीहरू पनि अहिले यही संग्रहालयमा सुरक्षित राखिएको छ । चित्रकार नेपालभाषा परिषद्का सचिव पनि हुन् । उनैको पहलमा यो संग्रहालय बनाउने काम अघि बढेको हो । उनी भन्छन्, 'चित्तधर जीवितै छँदा यसरी संग्रहालय बनाउने कुनै योजना थिएन । चित्तधरले आफ्ना धेरै सामग्रीहरू विभिन्न मानिस र संघ संस्थालाई उपहार पनि दिनुभएको थियो । अहिले ती सामग्रीहरूको कमी खट्किएको छ ।'

चित्तधर हृदयको नाममा संग्रहालय खोल्ने भएपछि नेपालभाषा परिषद्का वर्तमान अध्यक्ष फणीन्द्ररत्न वज्राचार्य दंग छन् । भन्छन्, 'वर्षौंको सपना पूरा भयो । अब चित्तधर दाइका सबै सामग्रीहरू सुरक्षित रहने भए ।' उनका अनुसार चित्तधरले आफ्नो मात्र होइन अरू पनि धेरै लेखकहरूको पाण्डुलिपि संकलन गरेका छन् ।

अहिलेसम्म १६ लाख खर्च भएको संग्रहालय निर्माणमा सरकारले ३ लाख रुपैयाँ सहयोग गरेको छ । 'सरकारले दिएको बाहेक अरू खर्च कोषाध्यक्ष डा. केशरीलक्ष्मी मानन्धरले बेहोरिरहनुभएको छ । पछि कहींबाट पूर्ति भयो भने रिफन्ड गर्नुपर्ला,' सचिव चित्रकारले भने । डा. मानन्धर कवि हृदयकै भान्जी हुन् ।

विदेशमा पनि साहित्यकार सेक्सपियर, वस्र्थवर्ड, रवीन्द्रनाथ टैगोर आदिका घरलाई संग्रहालय बनाइएको छ । नेपालमा बीपी कोइरालाको संग्रहालय छ तर घरमा होइन जेलमा । संग्रहालयविद् श्रेष्ठ भन्छन्, 'संग्रहालय भनेको पुरानो वस्तु जम्मा पार्ने ठाउँ मात्र होइन । यसको उद्देश्य हो ती कुरा हेरेर मानिसले तत्कालीन समाजको अनुभूत गर्न सकून् र केही प्रेरणा लिन सकून् । चित्तधर संग्रहालयको उद्देश्य पनि त्योभन्दा फरक छैन ।'

Source : http://www.ekantipur.com

No comments:

Post a Comment