नेवा: स इन्टरनेट रेडियो

Sunday, September 5, 2010

आनी छोइङ डोल्मालाई भेट्दा

जसले जे रोप्छ उसले त्यही पाउँछ। – भगवान् बुद्ध

राज श्रेष्ठ, कपिलवस्तु दिवस अभियान, सार्क संयोजक

Gorkhapatra
'फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार'गीतबाट प्रसिद्धि र लोकप्रियताको शिखर चुम्न सफल हुनुभएकी आनी छोइङ डोल्मालाई भेट्न पाउँछु भन्ने सायदै मैले कल्पना गरें हुँला। तर यो अवसर जुटाइ दियो, एउटा अभियानसँगको मेरो सम्बद्धताले। भदौ महिनाको पहिलो शनिवार, कपिलवस्तु दिवस अभियानका तर्फबाट सार्क संयोजकको रूपमा म, नेपाल संयोजक श्री लक्ष्मण पुरी, यस अभियानका सल्लाहकारहरू लुम्बिनी विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा गोरखापत्र दैनिकका पूर्व सम्पादक श्री केदार शाक्य, साहित्यकार डा.कविताराम श्रेष्ठ र ललितपुर जिल्लाका पूर्व मेयर तथा वरिष्ठ व्यक्तित्व श्री बेखारत्न शाक्य हामी पाँचजना आनीलाई भेट्न उहाँकै निवासस्थान बौद्ध पुगेका थियौँ।

सुन्दर र जताततै हरियालीले घेरिएको उहाँको घरमा पुग्नासाथै अत्यन्त सौहार्द वातावरणमा हामीले वार्तालाप सुरु गरिहाल्यौँ। स्वाभाविक रूपमा बौद्ध धर्म र दर्शनबाटै वार्तालाप सुरु भयो। अहिलेको विश्वमा भगवान् बुद्धका सन्देशहरूको महत्व बढ्दै गए पनि नेपालमा बौद्ध दर्शनसम्बन्धी कार्यक्रम टेलिभिजन जस्ता सञ्चारमाध्यममा नगण्य मात्रामा प्रसारण भइरहेको भनिरहँदा आनीको अनुहारमा देखिएका सौम्यतालाई म नियालिरहेको थिएँ। अत्यन्त शान्त र सौम्य रूपमा उनी भन्दै थिइन्–भगवान् बुद्धका उपदेशहरू सरल रहेकाले जीवनमा ग्रहण गर्न सहज पनि छ। कवि दुर्गालाल श्रेष्ठको शब्दमा आफ्ना भावना बोलेको पाउनुहुन्छ उहाँ। आफ्नो हृदयले जुन भावना व्यक्त गर्न खोजेका हुन् ती भावनालाई कवि दुर्गालालको शब्दमा भेटाउनु हुन्छ उहाँ। मन, मस्तिष्क र भित्री हृदयदेखि गाउनुभएको छ उहाँले कवि दुर्गालालका गीतहरूलाई। उनका गीतका शब्दहरू न्ह्यू बज्राचार्यको सुमधुर सङ्गीतले जीवन्त भएर श्रोताहरूको मन भित्रैसम्म गड्छन्।

मानव मस्तिष्कले सम्पूर्ण त्रिपिटक कण्ठै गरे पनि जबसम्म हृदयले त्यो ज्ञानलाई ग्रहण गर्दैन र व्यवहारमा देखिँदैन तबसम्म त्यो ज्ञान निरर्थक हुन्छन् भन्नुहुन्छ आनी। उहाँको कथनमा सही थाप्दै सँगै बस्नुभएका बौद्ध वाङ‌्मयका विद्वान् केदार शाक्य कृशा गौतमीको प्रसङ्ग कोट्याउँदै भन्नुहुन्छ–कृशा गौतमीको पुत्रवियोगलाइ शमन गर्ने उद्देश्यले भगवान् बुद्धले गौतमीलाई जन्मपछि मृत्यु अवश्यम्भावी छ भनी सम्झाउनु भएको थियो।

भिक्षाटनका लागि निस्केका एक युवा भिक्षुलाई देखेर एक सुन्दर युवती मुग्ध हुन्छिन्। आफ्नी एक सेविकामार्फत् ती भिक्षुलाई आफूकहाँ आउन आमन्त्रण गर्छिन्। युवा भिक्षु तिनको आमन्त्रण स्वीकार गर्छन् र 'समय आएपछि अवश्य आउनेछु' भनेर जवाफ फर्काउँछन्। अन्त्यमा क्षीण र रोगी भइसकेकी तिनलाई लिन भिक्षु आइपुग्छन्। आनी छोइङ डोल्मा बौद्ध साहित्यमा वर्णित यो कथा सुनाउँदा भाव विभोर बनेको स्पष्ट देखिन्छ। मित्र लक्ष्मण पुरीजी र म ध्यानपूर्वक सुनिरहेका छौँ। लक्ष्मणजी दुई दिनपछि सुरु हुन लागेको स्नातकोत्तर परीक्षाको तयारीलाई थाँती राखी आनीलाई भेट्न हामीसँगै आउनुभएको थियो।

आनीको विचारमा भगवान् बुद्ध युग कै सबभन्दा ठूला मनोवैज्ञानिक (Psychologist) थिए। केदार शाक्यजी उहाँको हो मा हो मिलाउनु हुँदै भगवान् बुद्ध मनोवैज्ञानिक मात्र हैन ठूला मनोचिकित्सक (Psychiatrist) पनि थिए भन्नुहुन्छ।


यसैबीच उहाँको नयाँ एल्बम, कवि दुर्गालाल श्रेष्ठको रचनामा नेपाल भाषाका गीतहरूको सँगालो 'मतकला'को एकएकओटा सिडी चक्का हामीलाई उपहारस्वरूप दिनुभयो। नेपाल भाषामा आनीको यो पहिलो एल्बम हो। नेपालभाषा नबुझे पनि गीतका प्रत्येक शब्दको अर्थ बुझेर ठीकसँग उच्चारण गर्न उहाँले निक्कै मेहनत गर्नुभएको रहेछ। उहाँको स्वरमा नेपाल भाषामा गीत रेकर्ड गर्ने कवि दुर्गालालजीको चाहनाअनुरूप यो एल्बम निकाल्न सफल भएको उहाँले बताउनु भयो।


यसपछि डा. कविताराम श्रेष्ठले उहाँको कृति 'महाभिनिष्क्रमणका अस्वीकृत पाइला'को बारेमा सङ्क्षिप्त जानकारी दिनुभयो। यस उपन्यासमा मूलतः सिद्धार्थलाई बुद्ध बनाउने तत्कालीन परिस्थितिलाई विश्लेषण गरिएको उहाँ बताउनुहुन्छ। त्यस युगमा उपनिषद्कालीन अन्योललाई चिर्दै भगवान् बुद्धले चार आर्य सत्यको माध्यमबाट जनतामा एउटा नयाँ सत्यको प्रतिस्थापन गर्नुभएको थियो भन्ने कुरालाई अनुसन्धानात्मक रूपमा यस उपन्यासमा समेटिएको छ भन्ने कुरा बताउनुहुन्छ डा. कविताराम। यस उपन्यासलाई तयार गर्न २५,२६ वर्षको अनुसन्धान गर्नुपरेको उहाँ बताउनुहुन्छ। आनीले उहाँको कृतिको प्रशंसा गर्दै उहाँलाई साधुवाद दिनुभयो। उहाँले सो कृतिको विमोचनका लागि डा.कविताराम श्रेष्ठले गर्नुभएको अनुरोधलाई पनि सहर्ष स्वीकार गर्नुभयो। यो कृति केही दिनभित्रै नेपाली पाठकसामु आउने भएको छ। यस कृतिको प्रकाशक कपिलवस्तु दिवस विश्व अभियान कमिटी र विवेक सिर्जनशील प्रकाशन प्रा‍‍‍लि रहेका छन् ।


आनीसँग भेटघाट गर्नुको अर्को एउटा उद्देश्य पनि थियो। उहाँलाई कपिलवस्तु दिवस अभियान विश्व कमिटिको सल्लाहकारमा बसिदिन हामीले अनुरोध गर्‍यौं। यस अभियानबारे सङ्क्षिप्त जानकारी दिँदै यस अभियानका मूल उद्देश्यमा भगवान् बुद्धका उपदेशलाई विश्वभर फैलाउनु र बुद्धजन्मस्थलबारे चलाइएका भ्रमलाई निवारण गर्दै बुद्धजन्मस्थल लुम्बिनी र कपिलवस्तु नेपालमा नै पर्दछ भन्ने कुरालाई विश्व जनमानसमा पुर्‍याउनु हो भन्ने कुरा हामीले उहाँलाई बतायौँ। हालसम्म विश्वका १३ देशहरूमा हाम्रो सञ्जालको विस्तार भइसकेको छ भन्ने कुरा पनि हामीले बतायौँ। भर्खरै दुई हप्ताअघि मात्रै बुद्धजन्मस्थलबारेको भ्रम निवारणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायौँ भन्ने कुरा पनि हामीले उहाँलाई बतायौँ। हाम्रो अनुरोधलाई सहर्ष स्विकार्नुहुँदै उहाँका आफ्ना कार्यक्रमहरू पनि विदेशमा भइरहने हुनाले यस अभियानलाई पनि सँगै लैजाने कुरा बताउनुभयो। लुम्बिनी हाल प्रमोदस्थल (Disneyland)को रूपमा विकास भइरहेको उहाँलाई मन परेको छैन। घुमघामको स्थलको रूपमा मात्रै लुम्बिनीलाई लिन नहुने उहाँको धारणा रह्यो। पुस्तक विमोचन र विश्व कमिटीमा बसिदिने दुवै प्रस्ताव स्विकारिदिनुभएकोमा उहाँलाई धन्यवाद दिँदै हामी बिदा हुने तरखरमा लाग्यौँ।

अन्त्यमा छुट्टिने बेलामा हामी सबै आश्चर्यचकित हुने गरी उहाँले भगवान् बुद्धका उपदेशलाई गीतमार्फत सुनाउनु भयो, जसको अर्थ थियो– जसले जे रोप्छ उसले त्यही पाउँछ।

No comments:

Post a Comment